February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

कर्णालीको सेवामा अटुट अठोट बोकेर समर्पित प्रा.डा. नन्दबहादुर सिंह

कर्णालीको सेवामा अटुट अठोट बोकेर समर्पित प्रा.डा. नन्दबहादुर सिंह

हिमाली जिल्ला कालीकोटको महावै– ४, दिल्लीकोटमा वि.स.१ असार २०२२ मा जन्मेका हुन् हालका प्राध्यापक डाक्टर नन्दबहादुर सिंह । शेरबहादुर सिंह र लालशोभाका आठ सन्तानमध्ये उनी कान्छा सन्तानमा पर्छन् । चार दाजु र तीन दिदीका भाइ सिंह सिंह सानैदेखि सिंहजस्तै विद्रोही स्वभावका थिए रे । गाउँकै त्रिवेणी निम्नमाध्यमिक विद्यालय (कालीकोट) बाट कक्षा १ देखि ७ सम्म अध्ययन गरेका सिंह हाजिरीजवाफ, वक्तृत्वकला, वादविवादमा प्रायः प्रथम हुन्थे । प्रावि, निमावि र माविमा पनि उनी सधैँ प्रथम हुन्थे ।

Advertisement

गोठालो जान, घाँस काट्न, उकालो– ओरालो गर्न खुब रुचि राख्ने सिंह धेरैपटक कसैले दूध दुहुन नसक्ने भैँसीले पनि आफूलाई सजिलै दूध दिने भएपछि बालापनमै आफ्नो प्राणीप्रति स्नेह पैदा भएको बताउँछन् ।
त्यसपछि माध्यमिक शिक्षा हासिल गर्न उनी दैलेख बजार झरे । त्यहाँको त्रिभुवन माविबाट एसएलसी पास गरे । दैलेखभरि २ सय ५६ जना एसएलसी दिने विद्यार्थीमध्ये त्यतिबेला १ जना उत्तीर्ण भए, ती थिए– नन्दबहादुर सिंह ।

Advertisement

यसबारे गाउँ–गाउँसम्म हल्ला फैलियो । उनलाई मास्टर बनाउन चाहन्थे सबै जना । त्यो बेला शिक्षकको तलब अरूको भन्दा आकर्षक हुन्थ्यो । तत्कालीन समयमा हाई स्कुल पढ्दा बेनजिर भुट्टो बचाउ अभियानमा नेतृत्व गर्नेमध्येका उनी पनि एक थिए ।

उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौंको अस्कल क्याम्पसमा आईएस्सीमा भर्ना भए । २०३८ सालमा उनको काठमाडौंको यात्रा रोचक छ ।

दैलेखबाट हिँडेर नेपालगञ्ज आए । कहिल्यै गाडी, बस, रेल नदेखेका सिंह पहिलोपल्ट बसमा चढ्दा अचम्मित भए । सधैँ रुख हिँड्दैन भनेर पढे पनि बसमा चढेपछि भइदियो उल्टो । विज्ञानमाथि मनमनै शंका पैदा भयो उनलाई । पछि प्रविधि बुझेसँगै यो दोधारको अन्त्य भएको उनी बताउँछन् । ’भारतको बाटोहुँदै भैरहवाबाट काठमाडौं आएको हिजोजस्तै लाग्छ मलाई,’ उनी सम्झिन्छन् ।

नौ महिना उनका तीन दाजुहरू र बुबा जेलबाट छुटेपछि उनले दैलेख जिल्लामा पढ्न आउने अवसर पाए भने काठमाडौंमा आईएस्सी सकेर बीएस्सी परीक्षा चल्दाचल्दै उनका साइँला दाजु प्रेमबहादुर डोल्पा जेलमा आमरण अनशनमा बसेका बेला स्वास्थ्य अवस्था नाजुक भएको थाहा पाएपछि उनी जसोतसो डोल्पा पुगे ।

पञ्चायतकालमा उनका बुबा र दाजुहरू प्रहरी प्रशासनको यातना ब्यहोर्न बाध्य थिए । जसोतसो डोल्पा पुगे तर उनी पुगेको थाहा पाएपछि प्रहरीले पक्राउ पुर्जी जारी ग¥यो । त्यसपछि नेपालगञ्ज भएर काठमाडौं पुगे । क्रान्ति कहाँ सजिलो हुन्छ र ? सानैबाट बुबा तथा दाजुहरूलाई यातना यति चरम चुलीमा पुगेको थियो कि मृत्युप्रतिको डरसमेत हराइसकेको थियो उनमा ।

समय बित्दै जाँदा वसन्तहरू फेरिए, अनि आशाका दीपहरू बल्न थाले उनको जीवनमा । त्यसैले पनि बीएस्सी (बायोलोजी), बीए (मेजर इङ्लिस), बीएल, बीएड (लिंगुस्टिक) गरी चारवटा स्नातक पास गरे उनले । त्यति बेला दुईवर्षे हुन्थ्यो स्नातक ।

त्यसपछि स्नातकोत्तर गर्न उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भर्ना भए । प्राणीशास्त्रबाट स्नातकोत्तर सकेसँगै उनको मेधावीको पहिचान गोल्ड मेडलिस्ट भएर प्रस्तुत भयो । अनि विश्वविद्यालयमा गोल्ड मेडलिस्ट भएका कारणले पढाउन थाले र पछि गएर स्थायी भए । पीएचडी गर्नकै लागि जापानको चर्चित युनिभर्सिटी अफ टोकियो गए र त्यहाँबाट जिनोमिक्समा विद्यावारिधि गरे । नेपाल फर्किएसँगै थुप्रै विद्यार्थीहरूलाई अध्यापन, थेसिससँगै अनुसन्धानका कर्महरूमा सघाउन थाले । उनी सन् २०१३ मा प्रोफेसर बन्न सफल भएका थिए ।

२०१९ मा खुल्ला प्रतिस्पर्धाबाट ३३ जना प्रतिस्पर्धीमध्ये उनी मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भए । कर्णालीलाई अध्ययन, अनुसन्धान र विकासबाट विश्वकै केन्द्रबिन्दु बनाउनुपर्छ भन्ने सिंह उपकुलपति भएपछि नवीनतम कामहरू गरेको बताउँछन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा पारदर्शिता आफ्नो जीवनको सार्थक अभियान भएको उनको दाबी छ ।
कालीकोटमा जन्मेहुर्केका उनी देशभित्र, बाहिर घुमेर फेरि कर्णाली नै फर्केका छन्, सम्भवतः एक अटुट अठोट बोकेर । आफू उपकुलपति रहेको विश्वविद्यालयमा उनले सुधारका केही अनुकरणीय प्रयास पनि गरेका छन् ।
जडीबुटी अनुसन्धान केन्द्र स्थापना, कर्णाली कलाको उजागर, विश्वविद्यालय सुधार, आत्मनिर्भर विश्वविद्यालय, खुल्ला प्रतिस्पर्धाबाट संसारभरिका दक्ष प्राध्यापक छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य आदि उनका मुख्य प्रयत्न हुन् ।

कोरोनाकालमा कर्णालीजस्तो ठाउँमा भर्चुअल पढाइ, परीक्षासँगै शैक्षिक क्यालेन्डर लागू गरेर नमुना काम देखाएका थिए उनले । उनी आफू मध्यपश्चिम विश्वविद्यालयमा आएपछि विश्वविद्यालय र सम्बन्धित नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गरेको, नयाँ फ्याकल्टी, इन्स्टिच्युट र एकेडेमी स्थापना गरेको, एकेडेमिक क्यालेन्डर लागू , बेरुजू न्यूनीकरण ४०.५ करोडबाट साढे ३.५ करोडमा ल्याएको, हर्बल ल्याब सञ्चालन प्रक्रिया, भौतिक संरचना निर्माण, परीक्षा प्रणालीमा सुधार, डिजिटल युनिभर्सिटीको काम सकिएसँगै घोषणा प्रक्रियामा लगेको बताउँछन् ।

काम गर्दै जाँदा कठिनाइ हाम्रोजस्तो मुलुकमा नआउने त कुरै भएन । त्यसैले पनि उनले अहिले ९० वटा विभिन्न शीर्षकका मुद्दाहरू झेलिरहेको कुरा पनि उनी बताउँछन् ।
२ सय ६३ करोडको अनुसन्धान योजना सार्थक पार्ने, खुल्ला प्रतिस्पर्धाबाट प्राध्याकहरूको छनोट, मेडिकल कलेज स्थापना, मलिकुलर ल्याब स्थापना, पाठ्यक्रम पुनः संरचना (७० प्रतिशत अन्तर्राष्ट्रियस्तरको, १० प्रतिशत राष्ट्रिय स्तरको र २० प्रतिशत स्थानीयस्तरको), कर्णाली इन्स्टिच्युट अफ इन्डिजिनिअस नलेज एण्ड टेक्नोलोजी स्थापना गर्ने हेतुले कामकारबाही अगाडि बढाएको उनी बताउँछन् । यसका लागि आफू निरन्तर लागिपर्ने पनि उनले बताए ।

भन्छन्, ’जीवन एक संघर्षको यात्रा हो र यो लगातार संघर्षकै प्रक्रियामा हामी अघि बढिरहेका छौँ । जीवन बर्थ बी र डेथ डीमा गएर अन्त्य हुन्छ । बी र डीको बीचमा सी हुन्छ, जसको अर्थ ’कन्टिनिअस प्रोग्रेस अर्थात् निरन्तर प्रगति गर्दै अगाडि बढ्नुपर्छ’ भन्ने हो । मेरो एउटै इच्छा छ, जिन्दगीलाई पिङझैँ मच्चाउनु छ, अन्धकारको पर्खाल भत्काउँदै, त्यो काला पहाड चढ्नु छ, र त मेरो ऊर्जा मृत्युको मुखसम्म राख्नु छ ।