April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

वैदेशिक रोजगार व्यवसायीको निर्वाचन अन्तिम समयमा स्थगित, किन रोकियो चुनाव ?

वैदेशिक रोजगार व्यवसायीको निर्वाचन अन्तिम समयमा स्थगित, किन रोकियो चुनाव ?

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारण सभा र निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । मंगलबार दिउँसो संघले एक सूचना निकाली सबै प्रक्रिया रोकिएको निर्वाचन समितिका संयोजक ऋषि शर्माले बताए । यो सँगै पुस ८ गते शुक्रबार गर्ने तयारी भएको संघले साधारण सभा र निर्वाचन गर्ने तयारी पुरा नभएको भन्दै अन्तिम समयमा आएर स्थगित भएको हो ।

Advertisement

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल लगायतले संघको निर्वाचनमा आम व्यवसायीको उचित प्रतिनिधित्व हुन नसकेको भन्दै केही समयका लागि संघको साधारण सभा र निर्वाचन सार्नुपर्ने माग गरेपछि अन्तिममा आएर सभा स्थगित गरिएको हो । संघले साधारण सभा र निर्वाचनको नयाँ मितिका विषयमा राजनीतिक दल निकट संघसंस्था, जातीय तथा भेगीय संस्थाका प्रतिनिधिहरुसंग पुनः छलफल गरी तोकिने र त्यसका लागि बिहीबार सर्वपक्षीय बैठक बस्ने तयारी गरेको छ ।

Advertisement

किन रोकियो निर्वाचन ?
संघले निर्वाचन समितिलाई पठाएको पत्रमा संघमा ८७६ सदस्य संस्था रहेकोमा साधारण सभा र निर्वाचनमा भाग लिन मंसिर मसान्तसम्म ३८९ सदस्य संस्थाले मात्रै प्रतिनिधि चयन गरी पठाएको छ । जुन संख्या संघ सदस्य संख्याको तुलनामा अल्पमत हो । संघको साधारण सभा बस्न ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने संघको विधानको दफा १६ (क) को व्यवस्था पालना हुनसक्ने अवस्था नभएकोले साधारण सभा रोक्नुपरेको शर्माले बताए ।

संघका सहसंयोजक प्रेम कटुवालले संघलाई छाता संस्था मान्ने राजनीतिक दल निकट संघ संस्थाबाट सम्भव भएसम्मका सदस्यहरुलाई समावेश गरी साधारण सभाबाट संघको आगामी नेतृत्व छनोट गर्नुपर्ने लिखित तथा मौखिक सुझाव दिएको भन्दै त्यसलाई पनि ध्यान दिई पुस ८ गतेका लागि तोकिएको साधारणसभा स्थगित गरिएको हो ।

यसअघि संघको साधारण सभा र निर्वाचन पटक–पटक रोकिएको छ । कोरोना भाइरसको ओमिक्रोन नामको नयाँ भेरियन्ट फैलिएर प्रशासनले भेला सभा गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी भएका कारणले पनि संघको साधारणसभा रोकिएको थियो । यसअघि नेकपा एमालेको पार्टी जिल्ला अधिवेशन, नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारण पनि संघको चुनाब र साधारण सभा रोकिएको छ ।