February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

कोरोना भाइरसको त्रासका कारण बजारमा ग्यासको कृतिम अभाव

कोरोना भाइरसको त्रासका कारण बजारमा ग्यासको कृतिम अभाव

फागुन २५, काठमाडौं ।
उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ ।
कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्न वर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन् । भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गर्दा बजारमा ग्यासको कृतिम अभाव भएको हो ।
ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ । ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो । नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ । उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन् ।
केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ । नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन् ।
‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन ।’ तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन् । यसले गर्दा ग्याँसमा कालोबजारी हुने सम्भावना बढेको छ ।
अर्थशास्त्रको सिद्धान्त अनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ । तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन् । त्यही बहानामा कालोबजारी मौलाउँछ । त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्का्ितर व्यापारीले फाइदा उठाउँछन् । ग्यास पछिल्लो उदाहरण मात्र हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो । अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन् । उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे।

Advertisement