कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि आजबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
सर्वासाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा चार हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा माघ ६ गते हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म मागानुसार आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म थप गरिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरो शेयर खातामार्फत आवेदन दिन सकिनेछ ।
यस कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीले २०७५ कात्तिक १७ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालन गर्दै आएको हो । केबुलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगाएतका परियोजना सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृति पाएको छ । कम्पनीको अधिकृत पूँजी ७५ करोड रूपैयाँ रहेको छ भने जारी पूूँँजी ६० करोड रूपैयाँ रहेको छ ।
प्रतिकृया दिनुहोस्