March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

विद्युतका तार व्यवस्थित गर्न सिद्धार्थनगरको सात दिने अल्टिमेटम

विद्युतका तार व्यवस्थित गर्न सिद्धार्थनगरको सात दिने अल्टिमेटम

रुपन्देहीको सिद्धार्थनगर नगर क्षेत्रभित्र विद्युतीय तारहरू व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले सम्बन्धित कार्यालयहरूलाई सात दिन अल्टिमेटम दिएको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभाबी झुन्ड्याइएका उपकरणहरूका कारण सहर कुरूप भएको भन्दै तार हटाउने पहल थालेको हो ।

Advertisement

नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको पोलमा टाँगिएका तारहरूलाई व्यवस्थित गर्न नगरपालिकाको कार्यालयले सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेर सात दिन अल्टिमेटम दिएको छ । पोलमा यत्रतत्र टाँगिएका इन्टरनेट, विद्युत् र टेलिकमका तारले नगरको सौन्दर्यकरणमा प्रभाव परेको साथै बजार क्षेत्र समेत कुरूप देखिएकोले पोलमा टाँगिएका तारहरूको व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुहरुलाई पत्राचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।
पोलमा सम्बन्धित कार्यालयले वर्षौँदेखि यत्रतत्र तार टाँग्दै आएको तर व्यवस्थित गर्न तर्फ चासो नदेखाउँदा सहर नै कुरूप देखिएको छ । उक्त तारहरू चराले गुँड समेत बनाउने गरेका छन् । ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली’ सिटी बनाउने हाम्रो अभियान नै हो’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने–‘सोही अभियानअन्तर्गत नै पोलमा यत्रतत्र टाँगिएका तारहरू पनि व्यवस्थित गर्न लागिएको हो ।’

Advertisement

उनले पोलमा यत्रतत्र टाँगिएका तारहरू व्यवस्थित गर्न पटक–पटक सम्बन्धित कार्यालयलाई मौखिक रूपमा आग्रह गर्दा पनि व्यवस्थित नभएपछि कार्यालयबाट पत्राचार गरेर ७ दिन भित्रमा व्यवस्थित गर्न आग्रह गरिएको बताए ।