विदेशी लगानी : आठ महिनामा २० अर्ब ५६ करोडको प्रतिबद्धता
विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाल आउँने लगानी पनि घटेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको अधिल्लो आठ महिनामा १५९ परियोजनामार्फत २० अर्ब ५६ करोड २३ लाख रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको हो । अघिल्लो वर्ष सो अवधिमा ३३ अर्ब १२ करोड ६६ लाख रुपियाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १२ अर्ब ५६ करोड ६५ लाख रुपियाँ कमी हो । विभागका अनुसार यो लगानी प्रतिबद्धता ३७ दशमलव ९३ प्रतिशतले घटेको हो ।
यो वर्ष १५९ वटा परियोजनामा १३४ वटा साना उद्योग, २२ वटा मझौला र तीनवटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । ती परियोजनामार्फत नौ हजार ४७८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
आठ महिनामा विदेशी लगानी प्रतिबद्धतामा सबभन्दा धेरै सेवामूलक परियोजनामा ७४ दशमलव ४४ प्रतिशत, पर्यटनमूलक परियोजनामा ६१ दशमलव ३८ प्रतिशत, उत्पादनमूलकमा १६ प्रतिशत, सूचना प्रविधिमा ७ दशमलव ५ प्रतिशत र पूर्वाधारमा ५ दशमलव ३ प्रतिशत रहेको विभागले जनाएको छ । खनिज, ऊर्जा र कृषिमा आधारित परियोजनामा लगानी प्रतिबद्धता नआएको विभागको तथ्याङ्क छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा तीन अर्ब ४४ करोड ६५ लाख रुपियाँको लगानी प्रतिवद्धता भएको छ । यस्तै असोज महिनामा एक अर्ब ८५ करोड ४७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । कात्तिक महिनामा तीन अर्ब ६५ करोड रुपियाँ, मङ्सिर महिनामा ८० करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएको छ । विभागका अनुसार पुस महिनामा चार अर्ब ८५ करोड २० लाख रुपियाँ, माघ महिनामा एक अर्ब ३९ करोड र फागुन महिनामा एक अर्ब ९२ करोड २९ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस्