ट्राफिक प्रहरीले आफैं सेनिटाइजर उत्पादन गरी युनिटमा वितरण
चैत १४, काठमाडौं ।
विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड—१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरेको जनाएको छ ।
कोरोना भाइरसको संक्रमणको समयमा पनि फिल्डमा खटिएका प्रहरीलाई सेनिटाइजरको अभाव भएपछि आफ्नै सकृयतामा उत्पादन गरी ड्युटीमा खट्टिएका ट्राफिक प्रहरीलाई वितरण गरिएको महाशाखाका प्रमुख भिम प्रसाद ढकालले बताए ।
आफैँ फिल्डमा गएर मास्क र सेनिटाइजर वितरण गरेका हुन् । ट्राफिक प्रहरीले प्रविधिकको सहयोगमा विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिका अनुसार सेनिटाइजर तयार पारेको हो ।
‘कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैँ सेनिटाइजर उत्पादन गरेको हो।’ महाशाखाका प्रमुख ढकालले भने, ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छौँ।’
नेपाल सरकारद्धारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ । यस्तो समय महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको हो । यस्तो विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्