आज देखिएका ३ जना संक्रमित पनि उदयपुर भुल्केका
बैशाख १०, काठमाण्डौ
नेपालमा आज (बुधबार) पनि कोरोना संक्रमित थपिएका छन् । आज देखिएका ३ जना संक्रमित पनि उदयपुर भुल्केका व्यक्तिहरु हुन्। यसअघि उदयपुरमा बस्दै आएका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। मन्त्रालयका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको उपचार भइरहेको छ।
‘योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ,’ स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा विकास देवकाेटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण भएको छ।
यसैबिच, तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव भएको छ ।
उदयपुरको मात्र नभएर नेपालकै कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
प्रतिकृया दिनुहोस्