एनआरएनए चुनावमा आचार्यको टिम घोषणा
२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन् ।
काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमत गरे । एक महासचिवका लागि धेरैले उम्मेदवारी घोषणा गरेकोले आचार्य टिम मिलेको थिएन । महासचिवमा अन्ततः बेल्जियम निवासी जानकी गुरुङको नाममा सहमति भएको छ ।
आचार्य समूहको समर्थनमा गुरुङले महासचिव पदमा उम्मेदवारी दिने पक्का भएको छ। आचार्य समूहमा यसअघि अमेरिकाका डा. केशव पौडेल र मध्यपूर्वका डीबी क्षेत्रीले पनि महासचिव पदका लागि दावी गर्दै आएका थिए ।
अमेरिकाका डा. पौडेलले अन्ततः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । काठमाडौं पुगेर नै महासचिव पदमा उम्मेदवारी घोषणा गरेका उनले साथीभाइको सल्लाहमा महासचिवबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
तर, मध्यपूर्वका क्षेत्री भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्। कांग्रेस निकटले चिनिएको आचार्य समूहले नेकपा निकट ठानिएका क्षेत्रीलाई पनि समेटेर समाबेशी टिम बनाएको दावी गर्दै आएको थियो ।
आचार्य समूहबाट उपाध्यक्षमा डा. पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन् । यस्तै वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
प्रतिकृया दिनुहोस्