September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

भारतबाट खोप काठमाडौं ल्याइँदै, बिहान ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइने

भारतबाट खोप काठमाडौं ल्याइँदै, बिहान ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइने

भारतले अनुदानस्वरूप दिने खोप लिएर त्यहाँबाट एयरइन्यिाको विमान उडेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

भारतले अनुदानस्वरूप नेपाललाई दिने कोरोनाविरुद्ध खोपको १० लाख डोज आज (बिहीबार) काठमाडौं ल्याइँदै छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान ११:३० बजे एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ। खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ। खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

आज आउने खोप तत्काल स्वास्थ्य सेवा विभाग टेकुमा भण्डारण गरिनेछ । त्यहीँबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य सेवा विभाग, खोप महाशाखाका प्रमुख डा.झलक गौतमले जानकारी दिए । प्रदेशबाट नै जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरूमा खोप वितरण गरिने गरी कार्ययोजना बनेको छ। हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् । ८ हजारको संख्यामा खोप लगाउने जनशक्ति छन् ।

कोरोनाविरुद्धको खोप सञ्चालनका लागि आगामी मंगलबारदेखि प्रशिक्षण दिइने उनको भनाइ छ । भारतले अनुदानमा दिएको १० लाख डोज खोप वितरणका लागि अहिलेकै जनशक्ति तथा स्रोत साधनले भ्याउने डा.गौतमको भनाइ छ । पहिलो चरणमा कति जनालाई खोप दिइनेछ भन्ने यकिन भएको एक साताभित्रमा खोप दिइसकिने डा.गौमत बताउँछन् । अहिले नै कहिलेबाट खोप दिइनेछ भनेर ठ्याक्कै मिति तोक्ने अवस्था नरहेको भन्दै सबै आन्तरिक तयारी सकेपछि त्यसको मिति घोषणा गरिने उनको भनाइ छ ।

कोभिशिल्ड खोप पहिलो चरणमा तीन प्रतिशत जनसंख्यालाई दिइनेछ । भारतले दिएको खोप देशभर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिइने खोप महाशाखाका प्रमुख डा.गौतमको भनाइ छ ।

स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा पर्नेछन् । त्यसपछि एम्बुलेन्स चालक र शव बाहन चालक र तेस्रो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ मजदुर तथा सुरक्षाकर्मी पर्नेछन् । यसरी छुट्याइएको प्राथमिकता समूहले खोप लगाएपछि मात्र दीर्घरोगी, सुरक्षाकर्मी र शैक्षिक संस्थामा कार्यरत फ्रन्टलाइनरलाई लगाइनेछ । विभागले अहिले स्वास्थ्य संस्थाहरुसँग फ्रन्टलाइनरको नाम मागिरहेको छ।