September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

कोरोनाभाइरस विरुद्धको खोप लगाउन शुरू गरिँदै, ६२ अस्पताल र १२० खोप केन्द्रबाट खोप दिइदै

कोरोनाभाइरस विरुद्धको खोप लगाउन शुरू गरिँदै, ६२ अस्पताल र  १२० खोप केन्द्रबाट खोप दिइदै

नेपालमा बुधबारदेखि कोभिड –१९ (कोरोनाभाइरस) विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरू गरिँदैछ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे टेकु अस्पतालबाट गर्देछन् । पहिलोपल्ट कोभिड–१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाउने कार्यक्रम तय भएको छ ।


आजै सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप दिने तयारी सरकारले गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने लक्ष्य राखेकोछ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

Advertisement


सरकारले पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी,स्वास्थ्य स्वयंसेविका, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने कार्यसूची तयार गरेको छ ।

सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको थियो । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।