April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

भारतमा १ करोड भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

भारतमा १ करोड भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

Advertisement

यहाँ कोरोना भाइरस संक्रमितको सङ्ख्या हिजो बिहीवारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड ९ लाख ६३ हजार ३९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हिजो शुक्रवार जनाएको छ ।

Advertisement

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ६७ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३९ हजार ५४२ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीवार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको छ । बिहीवार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधवारसम्म देशभर २० करोड ९४ लाख ४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीवार एकै दिनमा मात्र सात लाख ७१ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । रासस