March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस, सतर्कता अपनाउन सुझाव

काठमाडौं, चैत ३०

Advertisement

कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन्।

Advertisement

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । उनका अनुसार पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ ।

भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उनको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ ।

अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताए । उनका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बताए ।

अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्रमित बढिरहेका छन् । आइतवार मात्र ३०३ जना सङ्क्रमित देखिएका छन् ।

अहिले देशभर ८९ जना सघन उपचार कक्ष ९सघन उपचार केन्द्र० र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा नयाँ खालका भाइरस बढ्दो रुपमा फैलिरहेको बताए । उनका अनुसार अहिले नमूना परीक्षण गर्दा २०० जनाभन्दा बढी व्यक्तिमा नयाँ खालका भाइरस रहेको बताए।

भाइरस पत्ता लगाउन जीन सिक्वेन्सिङ

अहिले नेपालमा देखिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन । उनका अनुसार नमूना परीक्षणमा भाइरसको नयाँ प्रकारको मात्रा देखिएको छ । परीक्षणका क्रममा भाइरसको ‘एस’ जीन नेगेटिभ देखिएकाले भाइरस साँच्चीकै नयाँ भाइरस भन्ने छ ।

नेपालमा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको उनले जानकारी दिए। उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका उपकरणले भाइरसको जीन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिए । उनले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिए ।

अहिले विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्कङमा नमूना पठाइने गरिएको छ । रासस