March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सरकारले हातखुट्टा छाडेको छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

सरकारले हातखुट्टा छाडेको छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का संक्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् । उनले आज भिडियो सन्देश जारी गर्दै भने, “बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ ।”

Advertisement

मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि उनले आज भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको स्पष्ट गरे ।

Advertisement

मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जनाए । सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उनले नेपाली नागरिकको जीवन जोगाउन हरप्रयास गरिरहेको समेत बताए ।

“कोभिड–१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ,” उनले सन्देशमा भनेका छन्, “सरकार हरेक उपचारको विधि, उपचारका लागि अस्पताल थप्ने काम गरिरहेको छ ।”

उनका अनुसार संक्रमणको उपचारका लागि काठमाडौं उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको छ । “सरकार अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ,” उनले सन्देशमा भनेका छन् ।

संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुई–तीन दिनभित्र नेपालमा आपूर्ति गरिने उनको भनाइ छ । मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको र दोस्रो भेरियन्ट बढी संक्रामक रहेकाले हठात् संख्या बढ्दो रहेको जनाए ।

उनले संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँकतै कमजोरी भएको भए नैतिक जिम्मेवारी समेत लिइने स्पष्ट गरे । नेपाली नागरिकको जीवन महत्वपूर्ण भएकाले नै संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको उनको भनाइ छ ।

“संक्रमणको दर घटाउनमा यसले मद्दत पुु¥याउनेछ । महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो । उपचार दोस्रो हो । त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो,” उनले भने । उनले सबैलाई निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न र सुरक्षाका सबै मापदण्ड अपनाउनसमेत आग्रह गरे । रासस