विरामीलाई बेड पाउँनै मुस्किल, सरकारी विवरणमा भने कहाँ कहाँ छन् आइसियु र भेन्टिलेटर खालि ?
अधिल्लो साता कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका बेड भरिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बिरामीलाई बरन्डामै राखेर उपचार गर्यो । यो क्रम दुईहप्ता सम्म उस्तै छ । विरामीको अत्याधिक चाप बढेपछि विरामीलाई बेडको अभाव हुँदा अस्तालको बरण्डामा नै विरामी उपचार गर्न बाध्य छन् ।
अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बिरामीको चाप बढेकाले बरन्डा लगायतका अन्य ठाउँमा समेत विरामी राख्नु परेको बताए । उनले अन्य उपचार नभएपनि अक्सिजन ग्यास र केही रोकथामको मेडिसन भएपनि दिन यस्तो गरिएको बताए । हाल टिचिङमा इमर्जेन्सीको ढोकाबाहिर, माथिल्लो तलामा जाने बाटो र प्यासेजमा समेत बेड राखेर अस्पतालले बिरामीलाई अक्सिजन दिँदै आएको छ । शिक्षण अस्पतालको इमर्जेन्सीमा पछिल्लो उपचार पाउँने आशामा विरामी लाइनमा कुरेर बसिरहेका थुप्रै भेटिन्छन् ।
टिचिङ अस्पतालको जस्तै टेकु अस्पतालको इमर्जेन्सी पनि संक्रमितले भरिएको छ । पाँच बेड राख्न मिल्ने इमर्जेन्सीमा ठेलमठेल गरेर २६ बेड राखिएका छन् । आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई तीन दिनदेखि इमर्जेन्सीमै ‘होल्ड’ गरेर राखिएको छ । विरामीको चाप बढदै जाँदा अस्पतालमा विरामीको चाप थेगिनसक्नु भएपछि भएजति खालि ठाउँमा बेड राखेर उपचार गरिएको हो । अब हामीसँग बेड राख्नका लागि खाली ठाउँ पनि छैन,’ अस्पतालका प्रवक्ता नवराज गौतमले बताउँछन् ।
उपत्यकामा निजी अस्पतालमा समेत बेड पाइन मुस्किल हुन थालेकाले छ । बेड पाएपनि चर्को शुल्कका कारण आम सर्वसाधारण उपचारको लागि सरकारी अस्पतालकै मुख ताक्ने गरेका छन् । कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि सरकारले भने उलेख्य परिमाणमा अस्पतालमा बेड खाली रहेको आँकडा सार्वजनिक गरेको छ । कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खालि नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड खाली छन् । २ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा आइसोलेसन बेडको कुल क्षमता २३ सय ८६ रहेकामा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको देखाएको छ ।सरकारले सार्वजनिक गरेको विवरणमा वीर अस्पतालमा सबै खालका बेड खाली रहेको र सर्वसाधारणले उपचार पाउँने भनेको छ ।
४ सय ६४ आईसीयू बेड रहेकामा २ सय ४३ जना बिरामी छन्। भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ । यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन् । नेपाल प्रहरी अस्पतालमा ९३ वटा आईसीयू बेड खाली छन् । त्यहाँ आइसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन् । सशस्त्र प्रहरी बल अस्पतालमा ९ वटा आइसोलेसन र ९ वटा आईसीयू बेड खाली छन् । वीरेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ वटा भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयले जनाएको छ ।
महामारीको अवस्थामा निजी अस्पतालले तोकेको मनोमानी शुल्कबाट तर्सिएका नागरिक सरकारी अस्पतालमै पुग्ने गरेका छन्, तर राज्यको तयारी अपर्याप्त हुँदा उपचार जटिल बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्