March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

१८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

१८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

“यहाँ स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ वटा अक्सिजन कन्सन्ट्रेटर अहिले जडान गरियो”, उनले भने, “यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ ।” हाल महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेको उनले जानकारी दिए ।

Advertisement

“युनिसेफको सहयोगमा अब अस्पतालले नै अक्सिजन आपूर्ति गर्ने भनेका छौँ”, डा श्रेष्ठले भने, “अक्सिजन आपूर्तिका लागि यहाँको निजीस्तर र स्थानीय तहबाट पनि आर्थिक सहयोग भएको छ ।” अस्पतालको अस्थायी कोरोना अस्पताल, आइसीयू र आकस्मिक कक्षमा सङ्क्रमितको उपचार भइरहेको छ । छ शय्या रहेको अस्पतालको आइसीयू कक्ष कोरोनाको दोस्रो लहर शुरु भएयता सङ्क्रमितले भरिभराउ छ ।

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना सङ्क्रमणको दोस्रो लहरमा कञ्चनपुरमा पुरुष तथा महिला गरी ११५ जनाले ज्यान गुमाइसकेको जनाएको छ । कार्यालयका प्रमुख शिवराज सुनारले जिल्लाभर हाल पाँच हजारभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए ।

“एन्टिजेन र पिसिआर परीक्षणबाट यहाँ पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएका छन्”, उनले भने, “एक÷दुई दिनयताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर न्यूनरूपमा घटिरहेको देखिन्छ ।” उनले भारतबाट स्वदेश फर्किने नेपालीको यहाँको गौरीफन्टा नाका र गड्डाचौकी नाकामा दिनहुँ कोरोना परीक्षण भइरहेको जानकारी दिए । रासस