March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

४ ओटा कम्पनीलाई कोभिड–१९ को खोप विक्री गर्न चीनको अनुमति

४ ओटा कम्पनीलाई कोभिड–१९ को खोप विक्री गर्न चीनको अनुमति

असार ९, पेचिङ । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार ओटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।  यी खोपहरुलाई चीनभित्र शर्तसहित बजारमा विक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप विक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा पेचिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभ्याक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।

Advertisement

चीनको वाणिज्य मन्त्रालयका अनुसार पेचिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।

Advertisement

यी खोपहरु चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेको वाणिज्य मन्त्रालयका वरिष्ठ अधिकारी लि झिङक्वीनले बताए ।

उनले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरुले पनि ध्यान दिने बताएका छन् ।

चिनियाँ अधिकारीहरुले कोभ्याक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् । यहाँको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरीद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि बताएको छ । रासस/ सिन्ह्वा