चीनबाट थप १० लाख भेरोसेल खोप नेपाल आइपुग्यो
साउन ७, काठमाडौं ।
सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ । बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ ।
बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो । यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ । चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो । चिनबाट ल्याइएको भेरोसेल खोप यस अघि खोप अभियान सञ्चालन नभएको ठाउँमा पठाइने बताइएको छ ।
#कोरोना भाइरसविरुद्धको खोप #चीन
प्रतिकृया दिनुहोस्