January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

स्वदेश फर्काइएका १ सय ७५ नेपालीको रगत र खकारको नमुना सङ्कलन हुँदै

स्वदेश फर्काइएका १ सय ७५ नेपालीको रगत र खकारको नमुना सङ्कलन हुँदै

०४ फागुन, काठमाण्डौ ।
चीनको कोरोना (कोभिड–९) प्रभावित क्षेत्रबाट आइतबार विहान स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीको रगत र खकारको नमुना सङ्कलन भइरहेको छ ।
सरकारले चीनबाट स्वदेश फर्काएका नेपालीहरुलाई दुई चरणमा कोरोनाको प्रयोगशालामा नमुना परीक्षण गर्ने जनाएको छ ।
सङ्कलन गरिएको नमुना टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने सरकारको तयारी छ । क्वारेन्टाइनमा राखिएकाहरुको नमुना नियमित परीक्षण गर्ने जनाइएको छ ।
चीनबाट स्वदेश फर्कीएकाहरु अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर पुष्टि गर्नका लागि क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र पहिलो पटक नमुना परीक्षण गर्ने तयारी गरिएको छ ।
क्वारेन्टाइन लैजानुअघि त्रिभुवन विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल फर्कन आवेदन दिएका एक सय ८५ जनामध्ये ६ जनालाई ज्वरो आएको पाइएको र चार जनाले नेपाल फर्कन अस्वीकार गरेका कारण उनीहरु १० जनाबाहेक अन्यलाई नेपाल ल्याइएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको क्वारेन्टाइन क्षेत्रमा तैनाथ एम्बुलेन्स । सरकारले चीनको वुहानबाट आइतबार विहान ल्याएका नेपालीलाई स्वास्थ्य समस्या आएमा वार्डमा लैजान प्रयोग गरिने छ ।


चीनबाट स्वदेश फर्किएका नेपालीहरुलाई दुईसाता क्वारेन्टाइनमा राखेपछि उनीहरुको दोस्रो पटक कोरोनाको प्रयोगशालामै परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले दुईसातासम्म क्वारेन्टाइनमा रहदा पनि सचेत रहन आग्रह गरेको छ । क्वारेन्टाइनमा रहेका नेपालीलाई हरेक दिन दुईपटक थर्मोमिटरले ज्वरो टेष्ट गर्न सरकारले सबैको व्यक्तिका लागि छुट्टाछुट्टै थर्मा्मिटर समेत उपलब्ध गराएको छ ।

Advertisement