दूध खान पाउनु बच्चाको नैसर्गिक अधिकार, यी हुन् स्तनपान पछिका फाइदा
०७ फागुन, काठमाण्डौ ।
हिजो आज प्राय गरेर आधुनिक आमाहरुले शिशुलाई स्तनपान गराएको पाइदैन । तर, नियमित स्तनपान गराउनाले आमा तथा बच्चा दुबैको लागि धेरै फाईदा हुने चिकित्सकहरु बताउँछन् । दूध खान पाउनु एक बच्चाको नैसर्गिक अधिकार पनि हो । जन्मिएको एक घन्टाभित्रै नवजात शिशुलाई छातीमा टाँसी दूध चुसाउनुपर्छ । यसोगर्दा आमाको दूध बढी पग्रन्छ । यसपछि शिशुले मागेअनुसार सवा दुई–दुई घन्टाको फरकमा नियमपूर्वक दूध चुसाउँदा पुग्दो दूध आउन थाल्छ । आमाको दूध खाइरहेका शिशुलाई पानीसमेत खुवाउन जरुरी हुँदैन ।
बच्चा जन्मनासाथ स्तनपान गराएमा सुत्केरी आमाको पाठेघर खुम्चिन मद्दत पुग्छ । साथै, अति रक्तश्राव हुने खतरा कम भई साल छिटो झर्न मद्दत पुग्छ । शिशुलाई स्तनपान गराउने महिलालाई अन्यका तुलनामा स्तन क्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ ।
आमाको दूध शिशुले सजिलै पचाउन सक्छन् । शिशुको शरीरलाई उपयुक्त हुने पोषण तथा झोल तत्व आमाको दूधमा मात्र हुन्छ । आमाको दूधले एन्टिबायोटिकको काम गर्छ । यस्तो शक्ति अन्य दूधमा हुँदैन । त्यसैले त गाई, भैँसी, बाख्रा वा बट्टाको दूध खानेभन्दा आमाको दूध खाने शिशु स्वस्थ र बलिया हुन्छन् । नियमित स्तनपान गरेका शिशु अन्यका तुलनामा तीक्ष्ण बुद्धिका हुन्छन् ।
घरबाहिर काममा जाने महिलाले आफ्ना दूध दुहेर सफा भाँडामा छोपेर राखी बच्चालाई समय–समयमा खुवाउन सकिन्छ । यसरी दुहेको दूध ८ घन्टासम्म बिग्रँदैन ।
एचआइभी संक्रमित महिलाले स्तनपान गराएमा दूधबाट एचआइभी सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले यस्तो अवस्थामा शिशुलाई आमाको दूध नखुवाउदा नै उत्तम हुन्छ । यदि, नवजात शिशुमा एचआइभीसरी सकेको अवस्था छ भने कम्तीमा ६ महिना दूध खुवाउँदा शिशु बलियो हुन्छ ।
प्रतिकृया दिनुहोस्