भक्तपुरका ६ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न नगरपालिकाको आग्रह
फागुन २९, काठमाडौं ।
भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ६ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ ।
नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरसको संक्रमित भेटिएमा स्वास्थ्य परीक्षणका लागि छुट्टै शय्याको व्यवस्था गर्न पत्राचार गरेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि अहिले हरेकको मनमा त्रास उत्पन्न भएको छ । सरकारले यसको जोखिमलाई मध्यनजर गर्दै देशभर सचेतना तथा जोखिम न्यूनिकरणका उपाय अपनाइरहेको छ । त्यस्तै भक्तपुर नगरपालिकाले कोभिड–१९ को संक्रमणको प्रभाव बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको ठहर गर्दै यसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि आइसोलेशन वार्ड स्थापनको लागि निर्देशन दिएको हो ।
कोरोना सङ्क्रमित व्यक्ति भेटिए बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा सिफारिस गरी पठाउने व्यवस्था गर्न तथा कोभिड–१९ को सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ
प्रतिकृया दिनुहोस्