आयो खुशीको खबरः कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना गरिएकामा संक्रमण भेटिएन
३० फागुन, काठमाडौं
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारैजना बिरामीको स्वास्थ्य रिपोर्टमा संक्रमण नरहेको पाइएको छ ।
चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो।
यसबारेमा अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ।
यद्यपी कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपाल सरकारले अहिलेसम्म प्रभावकारी कदम नचालेको गुनासोहरू संक्रमणजस्तै बढ्दै गएको छ । करिब एक महिनाअघि चीनको वुहानबाट फैलिएको यो घातक भाइरसको संक्रमण विश्वव्यापी हुँदै गइरहेको अवस्थामा विश्वले नै चिन्ता बढाएका छन् । तर, नेपाल सरकारले भने कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालेको छैन ।
कोरोना भाइरस नियन्त्रण गर्न छिमेकी मुलुक भारत सरकारले कडा कदम चालेको छ । भारतले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विश्वका सबै देशसँग भारत आवत–जावतमा रोक लगाएको छ ।
अमेरिकाले बेलायतबाहेक युरोपका सम्पूर्ण मुलुकबाट आज शुक्रबारदेखि लागू हुनेगरी एक महिनासम्म प्रवेशमा प्रतिबन्ध गरेको छ । तर, नेपाल सरकार भने हेर र पर्खमा रहेको छ ।
चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हालसम्ममा कोरोनाभाइरसको संक्रमण १ सय २७ मुलुकमा फैलिएको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्