January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

अनुगमन गर्दा भक्तपुरमा भेटीयो उच्च रक्तचाप र मधुमेहको औषधि अभाव

अनुगमन गर्दा भक्तपुरमा भेटीयो उच्च रक्तचाप र मधुमेहको औषधि अभाव

३० फागुन, काठमाडौं ।
भक्तपुरमा उच्च रक्तचाप र मधुमेहको औषधि अभाव देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को असरले बजारमा माक्स, सेनेटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले बिहिबार औषधि पसलहरुको अनुगमन गरेको थियो ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा जगाति र च्याम्हासिंमा सञ्चालनमा रहेका औषधि पसलको अनुगमनको क्रममा उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव भएको पाइएको हो ।
अनुगमन गरिएका चाँगुनारायण पोलिक्लिनिकलगायत जगाती मेडिकल हल, सुसा फर्मेसीमा क्लिनिक, नवदुर्गा औषाधि पसल, यातु औषाधि पसल, च्याम्हासिं मेडिकल हललगायतमा गरिएको अनुगमनमा औषधि अभाव हुन नदिन आवश्यकताभन्दा बढी बिक्री वितरण नगर्न र औषधि बिक्री गर्दा अनिवार्यरूपमा बिल दिएर रेकर्ड राख्न टोलीले निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।
अनुगमनमा जगाति मेडिकल हलमा औषधि तापक्रम मिलाएर राख्न, औषधिको लागि फ्रिज राख्न, पसलमा बस्ने व्यक्तिको औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र अनिवार्य राख्न र क्लिनिक सञ्चालन गर्ने भए छुट्टै दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको र लागुऔषध बिक्री वितरणबारे जानकारी लिएको अनुगमन समितिले जनाएको छ ।
त्यस्तै नवदुर्गा औषधि पसलमा म्याद नाघेको औषधि भि–मेट ५०० दुई बट्टा र मेटा–एच ८५० दुई पाकेट बरामद गरी नष्ट गर्न निर्देशन दिएको छ ।
केही औषधि पसलमा बस्नेसँग औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र नभएको पाइएकाले तत्काल प्रमाणपत्र राख्न, म्याद नाघेको औषाधि हप्तैपिच्छे कम्युटर प्राणलीबाट जाँच गर्न, म्याद गुज्रेका औषधि बिक्री नगर्न, बिक्री गर्ने ठाउँमा नराख्न, अनुमति नलिइ क्लिनिक सञ्चालन नगर्न तथा दर्ता नवीकरण नगरीएका औषधि पसलसहरुलाई तत्काल दर्ता नवीकरण गर्न पनि निर्देशन दिएको छ ।

Advertisement