सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमाः कोरोनाको संक्रमण रोक्ने रणनीति बनाउने
२ चैंत, काठमाडौं
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन्। कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कार्ययोजना तय गर्न आइतवार सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा जम्मा भएका हुन् । ।
विश्वव्यापी रुपमा महामारी बन्दै गएको कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग छलफल गर्न बैठक तय गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई छ ।
काठमाडौं आएका मुख्यमन्त्रीहरूले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग सिंहदरबारमा छलफल गर्नेछन्। उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरूको बैठक दिउँसो १ बजेबाट बस्नेछ।
मुख्यमन्त्रीहरूसँगको बैठकमा कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरिरहेका काम र तिनका प्रभावबारे स्वास्थ्य मन्त्रालयले प्रतिवेदन प्रस्तुत गर्दैछ ।
त्यस्तै प्रदेशस्तरमा गरिएका पूर्वतयारीका कामबारे पनि मुख्यमन्त्रीहरूले रिपोर्टिङ गर्ने बताइएको छ ।
सरकारले स्थलगत आवागमनका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने देखि उच्च संक्रमण भएको मुलुकसँगको उडान समेत रोकेको छ ।
प्रदेश सरकारहरुले पनि संघीय सरकारकै नीति अनुरुप कोरोना भाइरसको संक्रमण रोकथामबारे कार्यविधि समेत बनाइसकेको छ ।
प्रतिकृया दिनुहोस्