January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

श्रमिक कल्याणकारी कोषका लागि एनआरएनएले १ करोड ६ लाख दिने

श्रमिक कल्याणकारी कोषका लागि एनआरएनएले १ करोड ६ लाख दिने

गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारीमा पिडित भएकाहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुले सो रकम दिने घोषणा गरेका हुन् । संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको छ । बैठकले यस अघिनै थालिएका कार्यक्रम र शुरु गरिएका पहलहरुलाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । महाभूकम्पको पीडामा लाप्राकमा नमूनाबस्ती निमार्ण, उद्धार तथा सहयोग, एनआरएन भवन निमार्ण, वैदेशिक रोजगार कल्याण कोष खडा गर्ने अनगिन्ति काम गर्दे आएको एनआरएनएको यो कदम पनि सम्झन लायत हुने छ ।
बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा एक समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

Advertisement

यस्तै आफु रहेकै मुलुकबाट मतदान गर्ने व्यवस्था र निशुल्क सदस्यता बारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ र यस समितिमा महासचिव डा हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन ।

Advertisement

महासचिव डा हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ । संघको काठमाडौस्थित सचिवालयलाई चुस्त बनाउन डा हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ ।

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ । आगामी २ वर्षका लागि मार्ग्चित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ । बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यापार तथा लगानी, सिप, ज्ञान तथा नबप्रवर्तन र नेपाल प्रवर्धन जस्ता पाँच विभाग निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरु रहने ब्यबस्था गरेको छ । यस्तै बैठकले एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । संघको बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य, सपिला राजभण्डारी, रामेश्वर शाह, टीबी कार्की, सोम सापकोटा, त्रिलोक गुरुङ, विश्व आदर्श पण्डित, पुष्प तिमल्सिना, जमुना गुरुङ, एसी शेर्पा र हरिबोल भण्डारी रहेका छन । बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्वअध्यक्ष देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहेका छन । वैठकले संस्थापक अध्यक्ष डा उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।