कस्ता बाबु ! फसाए छोरालाई नै …
१८, मंसिर, २०७६, काठमाण्डौँ । गएको कत्तिक ९ देखि १२ गतेसम्म नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक र रमझम चलिरहेको थियो । गरिब र निमुखा जनता पैसाको अभावमा तिहार कसरी मनाउने भनेर सोच मग्न थिए । ठीक यही बेला राजधानीमा सनसनीपूर्ण समाचार प्रवाह भयो । महाराजगञ्जबाट करोडौं नगद रकमसहित जुवाडेहरु कौडा हानिरहेको जुवाखालबाट पक्राउ परे । यो खबर हावासरी नेपालभर फैलियो । तर लामो समयदेखि आफ्नो घरलाई मिनी क्यासिनोको रुपमा प्रयोग गरेर जुवातास खेलाउँदै आएका मुख्य पात्रलाई भने प्रहरीले किन पक्राउ गरेन र पर्न सकेनन् भन्नेचाहिँ रहस्यकै गर्भमा छ ।
महानगरीय प्रहरी प्रभाग महारागञ्जले जुवाखालबाट नगद दुई करोड ६० लाख नगदसहित २५ जना ठूला जुुवाडेलाई पक्राउ गरेको समाचार बाहिर ल्यायो र घरधनीको नाम विक्रम गौतम भनियो । जुवा खेलाउने मुख्य योजनाकार तथा घर धनी विक्रम भन्दै प्रचार पनि निकै गरियो । बिचरा विक्रम ! उनलाई आफ्नै बाबुले फसाएको पत्तो नै पाएनन् । उनलाई बुबाले घरमा क–कसलाई जुवा खेल्न बोलाएका थिए के थाहा ? तर प्रहरीको कस्टडीमा पुगेपछि मात्र आफूलाई बाबुले फसाएको थाहा पाए ।
यही कारण उनी अहिले कस्टडीमा गत बिहीबार सम्पत्ति शुद्धीकरण विभागमा ४५ लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुुटेका छन् । महाराजगञ्जमा जुवा खेलाउने मुख्य पात्र विक्रम नभई उनको बुबा रामबहादुर गौतम हुन् । तर मुख्य योजनाकार रामबहादुरको नाम आजसम्म कहीँ कतैबाट सार्वजनिक भएको छैन । आम सञ्चारमाध्यम र प्रहरीले पनि आजसम्म उनको नाम किन बाहिर ल्याउन चाहेन, मुख्य प्रश्न यही हो ।
विक्रमलाई बन्दुकको मोहरा बनाएर मुख्य योजनाकार रहेका बाबु रामबहादुरलाई चोख्याउने काम अहिले किन भइरहेको छ ? निर्दोष रहेका र जुवा खेलाउने काममा संलग्न नभएका छोरा विक्रम पक्राउ पर्नु तर जुवा खेलाउने मुख्य नाइके बाबु रामबहादुर आजसम्म पनि पक्राउ नपर्नुको कारण के हो ? सर्वत्र चासोको विषय बनिरहेको छ । उनी आजसम्म पनि ‘पानीमाथिको ओभानो’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै छोरालाई मोहोरा बनाएर निर्बाध रुपमा व्यवसाय गर्दै आनन्दले छाती फुलाएर डुलफिर गरिरहेका छन् । उनी माल काट्नुलाई बाउ काट्नुुजस्तै ठान्ने एक जना अहिलेका चलनचल्तीको मन्त्रीको ‘दारु र म्यारिज पार्टनर’ पनि हुुन् ।
कस्ता बाबु ! रामबहादुर आफू उम्किएर छोरालाई फसाउन खोज्नु उनको पूर्वयोजना नै रहेको बताइएको छ । केही वर्षअगाडि दरबारमार्गमा एक युवतीलाई सामूहिक बलात्कार गरेको घटनामा गौतमका कान्छा छोरा विकास संलग्न रहेको तथ्य सार्वजनिक भयो र उनको नाममा प्रहरीले किटानी जाहेरी समेत सार्वजनिक ग(यो । तर पैसा देखेपछि भगवान्का पनि तीन नेत्र भनेझैँ प्रहरी उनको पैसाको अगाडि दरिलोसँग उभिन सकेन । त्यो समयमा पनि गौतमले घटनामा अर्कै व्यक्ति संलग्न भएको भन्दै पैसा दिएर नयाँ पात्र खडा गरे र दोष अर्कै व्यक्तिलाई स्वीकार्न लगाएका थिए । सो घटनामा मुख्य दोषी उनकै छोरा विकास रहे पनि उरुलाई नै बढी दोष देखाएर उनलाई कम सजाय हुने गरी मुद्दा दर्ता गरियो । अहिले मुख्य दोषीलाई कम सजाय र निर्दोषलाई बढी जेल बस्नुपर्ने गरी अदालतले फैसला गरेको छ । त्यसको लागि उनले राम्रै रकम खर्च गरेको भुक्तभोगीहरुले बताएका छन् ।
पहिलो घटनामा छोरालाई जोगाउने प्रयत्नमा लागेका गौतम यो पटक पनि पहिलेको घटनालाई बेवास्ता गरी आफ्नै जेठो छोरालाई मुख्य पात्र बनाएर उभ्याइरहेका छन् । आफ्नै छोरालाई प्रहरी कस्टडीमा पठाउने यी कस्ता बाउ ! भनेर उनका छिमेकीले उनलाई अहिले दुत्कार्ने समेत गरेका छन् । नातागोता र साथीभाइ समेत उनीसित अहिले सशंकित छन् । परिआउँदा आफनै छोरालाई कस्टडीको चिसो हावा खुवाउन पठाउनेले मौका पर्दा हामीलाई पनि छोड्दैन भन्न थालेका छन् । छोरालाई अभियुक्त करार गर्न आफू सो घटनाबाट उम्किन उनले ठूलै नगदको नजराना प्रहरीलाई चढाएको बुझिएको छ । त्यही कारण उनको नाम प्रहरीले सार्वजनिक गर्न नसकेको उनीनिकट स्रोतले बताएको छ । यसरी उनको नाम गुपचुप हुनु र सार्वजनिक नहुनुमा उनको पृष्ठभूमिले पनि केही काम गरेको बताइन्छ ।
को हुन् रामबहादुर ? काभ्रेपलाञ्चोक जिल्लाको साबिक पोखरी चौंरी वडा नम्बर २ हाल चौरी देउराली ५ का स्थायी बासिन्दा हुन् रामबहादुर । उनी सुरुमा काभ्रेबाट काठमाडौं आएर नेपाल प्रहरीमा जागिर खाएका हुन् । प्रहरी जवानमा भर्ती भएका उनले २०६० सालतिर पेन्सन पकाएर र असईबाट अवकाश लिएका हुन् । प्रहरीको जागिरबाट उनले सुरुमा कपनमा घर बनाएका थिए । जागिरबाट अवकाश भएपछि उनमा ठेकेदार बन्ने लालसा पलायो । त्यसको लागि उनी केही समय आफ्नै गाउँघरका छिमेकी एक जना नाता पर्नेसँग पैसा कमाउनुप(यो दाइ भन्दै सम्बन्ध अगाडि बढाए । ती दाइसँग मिलेर उनले बालाजुनजिकै रहेको काभ्रेस्थलीमा १०–२० रोपनी जग्गा किने । त्यो जग्गा प्लटिङ गरेर बेच्ने योजना थियो उनको ।
जग्गा सम्याउन डोजर लगाउँदै जाँदा त्यहाँ निर्माण कामको लागि उपयुक्त बालुवा निस्कियो । बालुवा बेचेर उनीहरुले राम्रै आम्दानी गरे । त्यो आम्दानीसँगै उनलाई निर्माणसम्बन्धी काम ठेक्कापट्टा गर्ने लहड चल्यो । काममा दक्ष नहुँदै उनमा ठेकेदार बन्ने लालसा पलायो । त्यही बालुवाखानीबाट भएको आम्दानी र जमिन बेचेर आएको रकमले उनले महाराजगञ्जको घर किनेका हुन् । सोही घरलाई हाल उनले मिनी क्यासिनोमा परिणत गरेका थिए । प्रायःजसो यो घरमा नवधनाढ्य र ठूलाबडाहरु जुवातास खेल्न आइरहेका हुन्थे । तर प्रहरीको संरक्षणमा हुँदै आएकोले तिहार अगाडिसम्म अप्रिय घटना भएको थिएन ।
प्रहरी अवकाशपछि निर्माण व्यवसायी स्( राम बहादुरको परिचय अहिले फेरिएको छ । हाल उनी पूर्वप्रहरी मात्रै नभएर ‘ए’ क्लासका ठेकेदार भएका छन् । उनी आफैं सरकारी कामको ठेक्कापट्टा गर्दै आएका छन् । उनको कन्स्ट्रक्सन कम्पनीको नाम हो मोतिदान । प्रहरीबाट अवकाशपछि उनले यो निर्माण कम्पनी खडा गरेका हुन् । उनको यो निर्माण कम्पनीले विभिन्न जिल्लाहरुमा सडक, भवन निर्माणसम्बन्धी विभिन्न किसिमका काम गरिरहेको छ । तर उनले ठेक्का पाएर गरेका निर्माणको काम गुणस्तरीय र स्तरीय छैनन् ।
उनले निर्माणका लागि ठेक्का लिएका धैरै काममा थुप्रै गुनासो आउने गरेका छन् । तर पैसा र उनको अगाडि कर्मचारी पनि नतमस्तक छन् । उनको कम्पनीले सडक फराकिलो र पिच गर्न ठेक्का लिएको धुलिखेलदेखि पाँचखालसम्म अरनिको राजमार्ग निर्माणको कामलाई नै उदाहरणको रुपमा लिन सकिन्छ । सो सडक निर्माण गुणस्तरहीन र कमसल माल प्रयोग गरेर धेरै अनियमितता गरेको पाइएको छ ।
अहिले सो सडक निर्माणसम्पन्न भएर पनि सरकारलाई हस्तान्तरण गर्न उनी सकिरहेका छैनन् । त्यसको एक मात्र कारण बनेको छ गुणस्तरहीन सामग्रीको प्रयोग । निर्माणसम्पन्न भएर गाडी गुडेको केही समय नबित्दै सो सडकको ठाउँ ठाउँमा धस्सिएर सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको छ । निर्माणपछिको सम्झौता अवधि नसकिँदै सो रार्जमार्गको पिच धसेर पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको हो ।
कसरी जोडिए गौतम मन्त्री र आईजीपीसम्म ? यस वर्षको तिहारमा जुवा खेल्नको लागि उनको घरमा पूर्वगृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश सरकारका संसद्मा विपक्षी दलका नेता रहेका इन्द्रबहादुर बानियाँ समेत पुगेका थिए । उनीसँगै नेपाल प्रहरीका पूर्वआईजीपी जयबहादुर चन्द पनि गौतमको घरमा जुवा खेल्नकै लागि पुगेका थिए । एक जना वकिलले त चार करोड रुपैयाँ पनि जितेका थिए ।
उनले सो जुवाखालबाट चार करोडभन्दा बढी रकम जितेको दोलखाका एक निर्माण व्यवसायीले बताएका छन् । आफूले एक घण्टाको बीचमा एक करोड २० लाख झ्वाम बनाएको पनि उनले बताए । तर माथि उल्लिखित कुनै पनि पात्रलाई प्रहरीले त्यसबेला पक्राउ गरेन । कारण के थियो नेपालको कानुन उनीहरु नै जानून् । जुुवाका मुख्य नाइके भनिएका उनीहरुको नाम पनि मिडियामा खासै सार्वजनिक भएन । अहिले उनीहरु निर्धक्कसँग छाती फुलाएर हिँडिरहेका छन् । तर जुवाखालमा उभिएर रमिता हेरिरहेका र च्याँखे थापेर दुईरचार हजार कमाइन्छ कि भनेर आशावादी भएकाहरु नै पक्राउ परेको बताइन्छ ।
मकवानपुर बाँनिया पनि ठेकेदार नै हुन् । गौतम पनि ठेकेदार भएकोले व्यावसायिक नाता पनि उनीहरुसँग जोडिनुको कारण बनेको छ । यसैगरी मकवानपुरमा गौतमको विशाल ढुंगा खानी छ । बाँनियाले गौतमको सोही ढुंगाखानीबाट उत्पादित ढुंगा आफ्नो निर्माण व्यवसायमा प्रयोग गर्दै आएका छन् । सोही कारण पनि उनीहरुको बीचमा व्यावसायिक सम्बन्ध जोडिएको हो । सम्बन्ध राम्रो भएकै कारण जुवा खेल्न पूर्वमन्त्री बाँनिया गौतमकहाँ पुगेका हुन् । उनी आउने थाहा पाएपछि पूर्वआईजीपी चन्द पनि त्यहाँ पुगेको बताइएको छ । तर उनीहरु पहिलोपल्ट त्यहाँ पुगेका भने होइनन् ।
उनीहरु विदाको दिन र अघिपछि पनि गौतमको घरमा मदिरा सेवन र जुवातास खेल्न बारम्बार पुग्ने गरेका थिए । तर सो दिन पूर्वमन्त्री बाँनिया, आईजीपी चन्द र गौतमलाई प्रहरीले नै संरक्षण गरी भीआईपी जुवाडेहरु पक्राउ नगरेको बताइएको छ । प्रहरीकै सेटिङमा छोरा विक्रमको नाम सार्वजनिक भएको बताइन्छ । पक्राउ परेकाहरुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसधान गरिरहेको छ । अनुसन्धान सकिएलगत्तै अकूत सम्पत्ति आर्जनअन्तर्गत उनीहरुलाई मुद्दा चलाउने तयारी भइरहेको छ । तर छोराको नाममा सम्पत्ति खासै नरहेको र गौतमलाई प्रहरीले पक्राउ नगर्नुले पनि यसपटक पनि उनी कारबाहीबाट जोगिने भएका छन् ।
प्रक्राउ पर्नेमा को–को छन् ? तीन लाख रुपैयाँको चेक एक थान, ३२ थान कौडा र चार बुुक ताससहित २५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा रामबहादुरका जेठा छोरा विक्रम गौतम, रामकृष्ण केसी, इन्द्र श्रेष्ठ, रञ्जन राजवंशी, श्याम प्रसाद पराजुली, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ्ग, राम तामाङ्ग, कृष्ण भण्डारी, सुमन अग्रवाल, सुमन गुरुङ्ग, शोभित सिलवाल, सोहेल कार्की, पवन अग्रवाल, पवित्र कुमार कार्की, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, शम्भु बुढाथोकी, प्रेम थापा मगर, बुद्ध लामा, शम्भु शेर्पा, नवाङ्ग लामा, श्रवण गोयल र प्रदिप बोगटी रहेका छन् ।
यो समाचार आजको आर्थिक दैनिकमा प्रकाशित भएको छ ।
प्रतिकृया दिनुहोस्