Banijya News

मध्यपूर्वमा युद्धको त्रास बढ्दै जाँदा नेपाली नागरिकको सुरक्षामा सरकारको तयारी कस्तो छ ?

1
1.0K Shares

अन्तर्राष्ट्रिय स्तरमा सम्भावित युद्धको जोखिम बढ्दै गएको चर्चासँगै विभिन्न देशले आफ्ना नागरिकको सुरक्षा र आपत्‌कालीन अवस्थाको सामना गर्न पूर्वतयारी गरिरहेको बताइएको छ । तर, मध्यपूर्वमा द्वन्द्व चर्किएमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने लाखौँ नेपाली नागरिकको सुरक्षाका विषयमा नेपाल सरकारको तयारी भने स्पष्ट रूपमा सार्वजनिक भएको देखिँदैन । यसले विदेशमा रहेका नेपालीको सुरक्षा, उद्धार र सम्भावित स्वदेश फिर्तीबारे प्रश्न उठाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणअनुसार बेलायत, जापान, जर्मनी, पोल्यान्ड, फ्रान्स, फिनल्यान्ड र नेदरल्यान्ड्सलगायत देशले सम्भावित संकटका लागि नागरिकलाई तयार रहन आग्रह गरिरहेका छन् । केही देशमा आपत्‌कालीन अवस्थामा प्रयोग गर्न खाद्यान्न, पानी, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्था गर्न सुझाव दिइएको छ । यस्ता तयारीले सम्भावित संकटलाई सामान्य रूपमा लिन नहुने संकेत गर्छन् ।

बेलायत सरकारले आफ्ना नागरिकलाई ‘बि रेडी पोजिसन’ रहन आन्तरिक निर्देशन जारी गरेको छ । त्यहाँ तीन दिनका लागि नगद, खाद्यान्न, पानी समेत व्यवस्था गर्न भनिएको छ । त्यस्तै, जापानले नोभेम्वर २ पछि तीन दिनका लागि खाद्यान्न, पानी, औषधी र अत्यावश्यक चिज भण्डारण गर्न नागरिकहरुलाई अपिल गरेको सन्देश जारी गरिएको छ ।

उता, अमेरिकाले आफ्ना विश्वभर रहेका सबै सैन्य बेसहरुलाई ९० दिनका लागि पुग्ने सामान जोहो गर्न र आत्मनिर्भर भएर बस्न भनिएको छ । त्यस्तै, पोल्याण्ड, जर्मनी, चेज रिपब्लिक, नेदरल्याण्ड, फ्रान्स, फिनल्याण्डजस्ता देशहरुले सम्भावित नागरिक सुरक्षाको जोखिमबारे तयारी गरिरहेका छन् ।

अहिले मध्यपूर्वमा अमेरिकाले भयानक आक्रमण गर्ने चर्चा चलिरहेको छ । मध्यपूर्वमा अमेरिका र इरानबीच सैन्य तनाव बढेमा त्यसको प्रभाव सम्बन्धित देशमा मात्र सीमित नहुन सक्छ । अमेरिकी सैन्य अखडालाई लक्षित गरी प्रतिआक्रमण भएमा क्षेत्रीय द्वन्द्व थप विस्तार हुन सक्ने जोखिम रहन्छ । त्यसको असर अन्तर्राष्ट्रिय हवाई उडान, तेल आपूर्ति, व्यापार तथा वैदेशिक रोजगारीमा समेत पर्न सक्छ । यद्यपि, अमेरिका वा इरानले आगामी दिनमा कस्तो सैन्य कदम चाल्छन् भन्ने विषयमा आधिकारिक पुष्टि नभएका विवरणलाई निश्चित घटनाका रूपमा लिन मिल्दैन ।

इजरायलमा हालै सम्पन्न भएको निर्वाचनको मत परिणामले पनि फरक परिस्थिति सिर्जना गर्न सक्नेछ । त्यस्तै, अमेरिकामा नोभेम्वर ३ मा निर्वाचन सकिए लगत्तै ट्रम्पले इरानमाथि घातक सैन्य हमला गर्ने तयारी गरिरहेको सूचना अहिले विश्वभर फैलिएको छ ।

नेपालका लागि सबैभन्दा संवेदनशील पक्ष मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको सुरक्षा हो । ठूलो संख्यामा नेपाली नागरिक रोजगारीका लागि खाडी मुलुक तथा मध्यपूर्वका अन्य देशमा छन् । युद्ध फैलिएको अवस्थामा उनीहरूको आवागमन, कार्यस्थलको सुरक्षा साथै स्वदेश फर्किने प्रक्रियामा गम्भीर समस्या उत्पन्न हुन सक्छ । हवाई क्षेत्र बन्द भएमा वा उडान रद्द भएमा उद्धार प्रक्रिया झन् जटिल बन्न सक्छ ।

यस्तो जटिल परिस्थिति आइपर्न सक्ने आँकलन भइरहेका बेला नेपाल सरकारको तयारी भने फितलो देखिएको छ । नेपालमा युद्धको प्रत्यक्ष असर कम परेपनि नेपाल बाहिर रहेका नेपालीहरुको सुरक्षा र स्वदेश फिर्तीका पूर्व तयारीहरुबारे कुनै जानकारी दिएको देखिएको छैन ।

यस्तो परिस्थितिमा सरकारले संकट चर्किएपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा पनि पूर्वतयारीलाई प्राथमिकता दिन आवश्यक छ । सम्भावित युद्धको जोखिम कति वास्तविक छ भन्ने विषयभन्दा पनि संकट उत्पन्न भएमा नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ ।

1

Scroll to Top