April 21, 2025, Monday
[nepali_today_date]

दुई रुपैयाँमै पुस्तक !

दुई रुपैयाँमै पुस्तक !

०४ मंसिर,२०७६, काठमाडौँ । दुई रुपैयाँमा पनि पुस्तक किन्न पाइन्छ भन्दा आश्चर्य लाग्न सक्ला । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी पुस्तक मेलामा राखिएको ‘काव्यार्चना’ कविता संग्रहको मूल्य ठ्याक्कै यति नै हो । पाँच दशक अघि प्रज्ञा प्रतिष्ठानले नै छापेको यो कविता संग्रहमा केदारमान ‘व्यथित’, बालकृष्ण सम, भवानी भिक्षु, विजय मल्ल, धर्मराज थापा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत २६ जना अग्रज स्रष्टाका सिर्जना छन् । प्रज्ञाकै नयाँ पुराना पुस्तकहरूको मेलामा सबैभन्दा बढीचाहिँ चौध सय रुपैयाँको ‘नेपाली अंग्रेजी शब्दकोष’ किन्न सकिन्छ ।

Advertisement

पहिलो दिन धेरैजसोले नेपाली आख्यान, कविता र दर्शनसम्बन्धी पुस्तक खोजी गरे । काठमाडौंमा बस्दै आएका रामेछापका ३६ वर्षीय मिनेन्द्र भण्डारी बौद्ध दर्शनको पुस्तकलाई नियाल्दै थिए । साहित्य र दर्शनका पुस्तक रुचाउने भण्डारीले सबै खाले पुस्तक एकै ठाउँमा सहजै पाइने भएकोले मेलामा आएको बताए । त्यस्तै कीर्तिपुरका ३८ वर्षीय प्रज्ज्वल पोखरेलचाहिँ अन्य ठाउँमा नपाइने पुराना पुस्तक खोज्दै थिए । ‘पढिसकेपछि कुनै विद्यालय वा पुस्तकालयलाई दिने गर्छु,’ उनले भने, ‘त्यही भएर पनि सस्तो मूल्यमा पाइने पुस्तक खोज्न आएको हुँ ।’

Advertisement

सस्तो पुस्तक खोज्ने पाठकलाई मध्यनजर गर्दै मेलामा छुटको व्यवस्थासमेत रहेको व्यवस्थापक सुधीर ढुंगेलले जनाए । उनका अनुसार मेलामा प्रतिष्ठानले प्रकाशित गरेको २०२७ सालदेखि २०७६ सम्मका साहित्य, दर्शन, समाजशास्त्र विधाका झन्डै ६ सयका हारहारीमा पुस्तक र पत्रपत्रिका राखिएका छन् । पछिल्लो ६ महिनाभित्रमा प्रकाशन भएका गोपीरमण उपाध्यायद्वारा लिखित ‘बौद्धदर्शन सरल अध्ययन’, दयाराम श्रेष्ठको ‘प्रज्ञा आधुनिक नेपाली कथाकोष’, दुबिनन्द ढकालको ‘बोटे भाषाको व्याकरण’, बिन्दु शर्माको ‘समसामयिक प्रगतिवादी नेपाली कथा’ लगायतका ८० भन्दा बढी पुस्तक पनि मेलामा छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।