कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । यी परियोजनामार्फत नेपालले पारिस्थितिक प्रणालीको संरक्षण, बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय वित्तीय सहयोग प्राप्त गर्नेछ ।
विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा तीनवटै परियोजना स्वीकृत हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीका अनुसार, यसले वातावरणीय क्षेत्रमा परेको आर्थिक भार व्यवस्थापन गर्न सहयोग पुग्नेछ । उनका अनुसार, प्राकृतिक विपद्का जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका कारण हुने क्षति कम गर्नसमेत परियोजनाले योगदान पुर्याउनेछ ।
स्वीकृत परियोजनामध्ये एक ‘स्ट्रेन्थेनिङ एडप्टेसन एन्ड फ्लड एन्ड ल्यान्डस्लाइड अर्ली वार्निङ फर द हिन्दुकुश हिमालय’ हो । हिन्दुकुश हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्दै जलवायु अनुकूलन क्षमता बढाउने उद्देश्य राखिएको यस परियोजनाका लागि ३ करोड अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) यसको कार्यान्वयन निकाय हो ।
यसैगरी, ‘ग्रिन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ । प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण र जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यसहित अघि बढाइएको यस परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) हो ।
त्यस्तै, लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा आधारित प्रकृतिमैत्री जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने तेस्रो परियोजनाका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ । युएन ह्याबिटाटले यसको कार्यान्वयन गर्नेछ ।
मन्त्री चौधरीका अनुसार, यी परियोजनाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्ने नेपालको क्षमता बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।


