श्रम समझदारीमा छलफलका लागि नेपाल र अरब बीचको बैंठक चल्दै ,
१७ कार्तिक, २०७६ काठमाडौं –
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित दुई दिने संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक सुरु भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषयलाई बैठकले उठान गर्ने छ ।
बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने छ । बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ । आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गत असोज अन्तिम साता युएई पुगेका श्रममन्त्री गोकर्ण विष्ट र युएईका मानव संसाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्र हस्ताक्षर भएको थियो ।
बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले गरेका छन् । युएईका तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्