काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा केयूकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित वाग्मती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिए । कार्यकारी निर्देशक साहका अनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयूकेएलले वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा शिवपुरीस्थित वाग्मतीको पानी ल्याउने ५–६ वर्ष पुरानो योजनालाई तीव्रता दिएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन र दररेटको समस्याका कारण रोकिएको उक्त आयोजना हिजोको बैठकबाट ईआईए प्रतिवेदन स्वीकृत भएसँगै ‘फास्ट ट्रयाक’मा अगाडि बढाइएको छ । िहाल वाग्मतीबाट दैनिक २ करोड लिटर पानी आपूर्ति भइरहेकोमा अब थप पाइपलाइन विस्तार गरी त्यसको क्षमता बढाइने भएको छ । पहिलेका दुईवटा १४ इन्चका पाइपका अतिरिक्त २० इन्चको नयाँ पाइप थप गर्ने कार्य हिजोबाटै सुरु भइसकेको छ ।
उक्त आयोजनाका लागि आवश्यक २०० मिटर डीआई पाइप संस्थासँगै उपलब्ध रहेको र बाँकी ५०० एमएमको एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिने साहले बताए ।
आगामी तीन हप्तादेखि एक महिनाभित्र यो कार्य सम्पन्न गरी उपत्यकामा थप ४ देखि ५ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यसबाट चक्रपथभित्र मेलम्चीको पानी अभावका कारण प्रभावित क्षेत्रमा राहत पुग्ने अपेक्षा गरिएको छ ।


