Banijya News

सुनसरीको कप्तानगञ्ज सामुदायिक झडप, सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग

1
1.0K Shares

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनामा निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ । घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टी नेता वीरेन्द्र केएमले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।

भेटका क्रममा उनीहरुले घटनाको वास्तविकता सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको बताएका छन् । दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने उनीहरुको माग छ ।

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

रास्वपाले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव नै समाजको आधार भएको उल्लेख गर्दै सबै पक्षलाई शान्ति कायम राख्न र कानुनी प्रक्रियामा विश्वास गर्न आग्रह गरेको छ । गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले घटनालाई राजनीतिक वा धार्मिक रूपमा उग्र बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै धार्मिक आवरणमा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने बताए ।

1

Scroll to Top