Banijya News

सुनसरी घटनाबारे सर्वदलीय निर्णय संवाद र सामाजिक सद्भावका लागि जोड

1
1.0K Shares

सुनसरी लगायत विभिन्न स्थानमा देखिएका हालैका घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा प्रमुख दलहरूको एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकले यस क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, राष्ट्रिय एकता र सहिष्णुतालाई आँच आउने खालका कुनै पनि गतिविधिमा नलाग्न सबै पक्षलाई सचेत गराइएको छ।

आवेग र उत्तेजनामा चालिने कदमले समस्या समाधान गर्नुको सट्टा झन् जटिल बनाउने भन्दै बैठकले शान्तिपूर्ण संवाद र सहमतिको मार्ग अपनाउन अपिल गरेको छ। असन्तुष्टिहरूलाई लोकतान्त्रिक विधिबाटै हल गर्न सकिने तर्फ जोड दिँदै स्थानीय तहसम्मै सर्वदलीय संयन्त्र निर्माण गरी धार्मिक अगुवा र नागरिक समाजसँगको समन्वयमा सद्भावको वातावरण बनाउन राजनीतिक दलका स्थानीय कमिटीहरूलाई निर्देशन दिइएको छ।

सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह, द्वेषपूर्ण अभिव्यक्ति र भ्रामक सूचनाले स्थितिलाई थप बिगार्न सक्ने खतराप्रति सचेत गराउँदै नागरिक र सञ्चारमाध्यमलाई उच्च संयमता अपनाउन आग्रह गरिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन केन्द्रीय नेतृत्वले प्रभावकारी अनुगमन र समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न र परिस्थितिलाई सहज बनाउन सरकारसँग जोडदार माग गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै दलहरूले शान्तिपूर्ण र दिगो समाधानका लागि पूर्ण सहयोग गर्ने अदीर्घ प्रतिबद्धता व्यक्त गरेका छन्।

1

Scroll to Top