पुँजी बजारमा लाभांशको ‘सिजन’ सुरु भएसँगै म्युचुअल फन्डहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्। लाभांशको सुरुआत खुलामुखी (ओपन इन्डेड) फन्ड ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ले ३ प्रतिशत नगद लाभांश दिएर गरेको हो। त्यस्तै, अन्य खुलामुखी फन्डहरूमा कुमारी सुनौलो लगानी योजनाले ४.७ प्रतिशत र एनएमबी सरल बचत फन्ड–इले ५.२५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
बन्दमुखी (क्लोज इन्डेड) म्युचुअल फन्डहरूतर्फ माछापुच्छ्रे इक्विटी फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र रिलायबल समृद्धि योजनाले ८ देखि ८.४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। यस्तै, कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ र एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले अधिकतम १० प्रतिशतसम्म नगद लाभांश दिने भएका छन्।
यसपालि म्युचुअल फन्डहरूको लाभांश अधिकतम १० प्रतिशतसम्म मात्र सीमित देखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो। गत वर्ष सानिमा लार्ज क्याप, लक्ष्मी उन्नति कोष र सिद्धार्थ इक्विटी फन्डजस्ता योजनाहरूले २० देखि २१ प्रतिशतभन्दा बढी लाभांश दिएका थिए। यस वर्ष भने कतिपय फन्डको लाभांश वाणिज्य बैंकहरूको बचत खाताकै ब्याजदर (२.७५ प्रतिशत देखि ३.५ प्रतिशत ) को हाराहारीमा थन्किएको छ।
म्युचुअल फन्डपछि अब विकास बैंक र हाइड्रोपावर कम्पनीहरूले पनि प्रतिफल बाँड्न थालेका छन्। हाइड्रोपावरतर्फ मान्डू हाइड्रोपावरले १२ प्रतिशत नगद तथा विकास बैंकतर्फ कामना सेवाले १५ प्रतिशत नगद र सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत (४ प्रतिशत बोनस र ६.५२ प्रतिशत नगद) लाभांश घोषणा गरेका छन्। चाडपर्व नजिकिँदै गर्दा अब वाणिज्य बैंक र लघुवित्तहरूले पनि छिट्टै लाभांश ल्याउने अपेक्षा छ।

