मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागले आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै सोमबारदेखि नै केही भूभागमा आंशिक बदली सुरु हुने र बुधबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने जनाएको हो ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यही प्रभावका कारण सोमबार दिउँसो हिमाली भूभागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
मंगलबार कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोसी, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार, बुधबारदेखि शुक्रबारसम्म देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम थप बदली हुने सम्भावना छ । बुधबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यस्तै, बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ ।
महाशाखाले वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, पर्यटन र पर्वतारोहणमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यात्रा वा अन्य गतिविधि गर्नुअघि मौसमसम्बन्धी अद्यावधिक सूचना लिनसमेत महाशाखाले अनुरोध गरेको छ ।


