नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ । रोमाञ्चक बनेको खेलमा अन्तिम ओभरसम्म प्रतिस्पर्धा भए पनि जनकपुरले जितका लागि आवश्यक रन जोड्न सकेन ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि सैफा हसनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४८ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।
त्यस्तै, विशाल सुस्लिङले ४३, जेम्स निसमले २७ र मोइन अलीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको जनकपुरविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । विराटनगरका लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय पारी खेले ।
ओपनर सेहान जयसुरिया तीन बलमा एक रन बनाएर आउट भए पनि बमले ४० बलमा ५० र शेखले ४५ बलमा ५६ रन जोडे । बमले तीन चौका र तीन छक्का तथा शेखले पाँच चौका र दुई छक्का प्रहार गरे ।
त्यस्तै, रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए । उनले दुई चौका र पाँच छक्का प्रहार गरे । शुभम रन्जने सात रनमा अविजित रहे ।
बलिङतर्फ विराटनगरका रसेलले चार विकेट लिए । एन्जेलो म्याथ्युजले दुई तथा रूपेश सिंहले एक विकेट हात पारे । जनकपुरका अभिशेख तिवारीले दुई र मोइन अलीले एक विकेट लिए ।


