सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको नेतृत्वमा कार्यरत छन् ।
मन्त्रिपरिषद् स्रोतका अनुसार, हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर उनलाई सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय भएको छ ।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व अब मनोज केसीले सम्हाल्ने भएका छन् । केसीको नियुक्तिसँगै प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको छ भने कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा मामिलासँग सम्बन्धित नयाँ जिम्मेवारीमा सारिएको छ ।
पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो । सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको बुझिएको छ ।
कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए । २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।


