भेषवाकर चम्केपछि नेपालको जित
शनिवार ३० कात्तिक २०७६
अनुभवी खेलाडी शरद भेषवाकरले राम्रो ब्याटिङ गर्दै ८९ रन बनाएपछि नेपालले क्रिकेटमा हङ्कङमाथि ४० रनको जित हासिल गरेको छ । बाङ्ग्लादेशमा भइरहेको एसीसी इमर्जिङ टीम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा विजयी भएपछि नेपालको सेमीफाइनलमा पुग्ने आशा कायम छ । शनिवार पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा २१७ रन बनाएको थियो। हङ्कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनायो र प्रतियोगिताबाट बाहिरियो । हङ्कङले टस जितेर नेपाललाई ब्याटिङ गर्न लगाएको थियो। कप्तान ज्ञानेन्द्र मल्ल बिहीवार भारतसँगझै खेलको दोस्रो बलमा नै आउट भए । अर्का ओपनर कुशल भुर्तेल पनि तुरुन्तै आउट भएपछि नेपाल सङ्कटमा परेको थियो । तर भेषवाकर, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आशिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गरेपछि नेपालले खेल जितेको छ । सोमवार नेपालले बलियो देखिएको आयोजक बाङ्ग्लादेशलाई हराए सेमीफाइनलमा पुग्ने सम्भावना रहनेछ ।
प्रतिकृया दिनुहोस्