श्रम स्वीकृति सहज बन्दै, घरमै बसेर थाहा पाउन सकिने
सोमबार ९, मंसिर २०७६, काठमाण्डौ ।
वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्या्दित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रणालीअन्तर्गत सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ ।
यो प्रणाली कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलमा लाग्ने भीड पनि स्वतः कम हुने र सेवाग्राही दिनहुँ श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । यस्तै श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश अस्वीकृत हुने भएमा वा थप कागजात पेस गर्नु परेको खण्डमा विभागले मोबाइलमा एसएमएस (मेसेजिङ) पठाउने व्यवस्था गर्न लागेको छ । श्रम स्वीकृतिको सूचना पनि मोबाइलको मेसेजमार्फत विभागले जानकारी गराउने व्यवस्था गर्ने छ । सेवाग्राहीले फाराम भर्दा पेस गरेको ईमेलमा श्रम स्टिकर पठाउने कार्य यसअघि नै कार्यान्वयनमा ल्याइसकेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्