भाउजूले नै पुर्याइन् वेश्यालय
१२ मंसिर, २०७६, काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो । सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो ।
किशोरीलाई दिल्लीको वेश्यालयसम्म पुर्याउने घटनाको सुरुवात ०७३ कात्तिकमा भएको थियो । त्यतिबेला दीपावलीको रौनक सुरु हुनै लागेको थियो । ९ कक्षामा पढ्ने किशोरीको मन भने भिन्नै कुराले तुलबुल भइरहेको थियो ।
काठमाडौंको पूर्वी भागमा बाबुआमासँग डेरा गरेर बसेकी उनलाई भाउजू (भाञ्जादाइकी श्रीमती) ले अनोठौ सपना देखाउँदै घरबाटै लिएर हिँडेकी थिइन् । भाउजूले उक्साउँदै भनेकी थिइन्, ‘पढेर के गर्छौ ? भारत जाम । होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाइदिन्छु ।’
नयाँ ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैसा पनि कमाइने प्रलोभनको जालमा किशोरी परिहालिन् । उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भन्ने । अनि उनलाई के थाहा, नर्कजस्तो जिन्दगीको बाटोतर्फ आफूलाई हिँडाइएको छ भन्ने । भाउजूसँगको सल्लाहमा उनी खुसुक्क घरबाट निस्किइन् । भाउजूले उनलाई नजिकैको बसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन् । ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन् । सीताले किशोरीलाई वीरगन्ज लगेर एक रात राखी रक्सौल हुँदै दिल्ली पुर्याइन् । धनुषा बेंगाडाबर घर भई दिल्लीमा वेश्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले किशोरीलाई आफ्नो जिम्मामा लिइन् । प्रहरी अनुसन्धानले जुना र किशोरीकी भाउजूबीच पनि नातासम्बन्ध रहेको देखाएको छ ।
होन्डा कम्पनीको जागिर खाने सपना देखेकी किशोरी त्यतिबेला चकित परिन्, जतिबेला जुनाले उनलाई अश्लिल भिडियो देखाउँदै सोधिन्, ‘तिम्लाई यस्तो गर्न आउँछ ?’ जुनाका एक साथी थिए, दीपक । कलिली किशोरीलाई देखेपछि दीपकले भने, ‘यिनी नयाँ नै छिन्, तयार हुन एक महिना लाग्छ ।’ त्यसपछिका केही साता उनले जुनाकै घरमा सरसफाइको काम गरिन् ।
प्रहरीका अनुसार प्रत्येक दिन अश्लील सामग्री देखाउँदै किशोरीमा उत्तेजना ल्याउने प्रयास गरिएको देखिन्छ । जब उनीहरूलाई किशोरी तयार भइन् भन्ने लाग्यो, त्यसपछि नाम बदलेर सोनिया राखिदिए । दिल्ली पुगेको १५ औं दिन किशोरीलाई जुनाले जबर्जस्ती मदिरा ख्वाइदिइन् र एक ग्राहकसँग यौन सम्पर्कका निम्ति बाध्य पारिन् । किशोरीले प्रहरी बयानमा त्यस्तो कामबापत जुनाले ५० हजार भारतीय रुपैयाँ बुझेको बताएकी छन् ।
किशोरीलाई जुनाले लगाएको काम स्वीकार्य थिएन तर उनी परिबन्दमा परेकी थिइन् । घर फर्कन्छु भनेर जिद्दी गरेपछि जुनाले भनिन्, ‘तिम्लाई १५ हजारमा किनेको हो । पैसा फिर्ता गरे पठाइदिन्छु ।’ आफूलाई दिल्ली पुर्याइदिएबापत जुनाले १३ हजार रुपैयाँ र एउटा मोबाइल सेट भाउजूलाई पठाइदिएको बयान पनि किशोरीले दिएकी छन् । त्यसपछिका दिन सजिला रहेनन् । प्रत्येक दिन जबर्जस्ती मदिरा पिलाउने र यौन सम्पर्कका निम्ति बाध्य पार्ने क्रम चलिरह्यो । प्रत्येक दिन ३ देखि ५ जनासँग यौन सम्पर्कका निम्ति बाध्य पारिएको किशोरीले बताएकी छन् । उनले भनेकी छन्, ‘जुनाले एक रात ग्राहकसँग बसेबापत १५ हजार र एकपटक यौनसम्पर्क राखेबापत ५ हजार लिने गर्थिन् ।’ साँझ ढल्किन थालेपछि मानिसहरू आ–आफ्नो घरतिर कुद्थे । उनलाई भने वेश्यालय लगिन्थ्यो र ग्राहकसँग रात काट्न लगाइन्थ्यो । किशोरीले राति ९ देखि बिहान २र३ बजेसम्म आफूलाई विभिन्न ग्राहकसँग सुताइने गरेको प्रहरीलाई बताएकी छन् । यो खबर आजको कान्तिपुरमा प्रकाशित भएको छ ।
प्रतिकृया दिनुहोस्