March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एडिबीको सहयोगमा ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गरिने, कहाँ कहाँ बन्दैछन् ? (सूचीसहित)

एडिबीको सहयोगमा ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गरिने, कहाँ कहाँ बन्दैछन् ? (सूचीसहित)

सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ । एक वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएपछि चार्जिड स्टेसन निमार्ण गरिने भएको हो । नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र चीनको च्याङ्सु प्रान्तस्थित वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडबीच चार्जिङ स्टेसन निर्माणका विषयमा ३१ चैतमा सम्झौता भएको हो । कम्पनीले रु.३७ करोड ७९ लाख ५५ हजारमा (करबाहेक) चार्जिङ स्टेशनहरू निर्माण गर्नेछ । एसियाली विकास ब्यांकले चार्जिङ स्टेशन निर्माणमा वित्तीय सहयोग गर्नेछ ।

Advertisement

वाङवाङ डिजिटल इनर्जी कर्पोरेसनसँग चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता गरिएको विद्युत् प्राधिकरणले जनाएको छ। सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए। उनका अनुसार, हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ।

Advertisement

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनमा एक साथ चार्ज गर्न सकिनेछ। ३०० भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर समेत राखिनेछ। विद्युत्को खपत बढाउन प्राधिकरणले विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ स्टेसन निर्माणलाई जोड दिएको हो। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसहितका जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेकाले आगामी वर्षायाममा देशभित्र उत्पादित विद्युत् खेर जाने जोखिम छ। विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न सक्दा वातावरणीय लाभका अतिरिक्त देशभित्रको विद्युत् पनि खपत हुन्छ र पेट्रोलियम पदार्थको आयात पनि प्रतिस्थापन हुन्छ।

देशभरिका ५० वटै स्टेसनको नियन्त्रण भने काठमाडौँबाट हुनेछ। सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला शहरमा राखिनेछन्। काठमाडौं उपत्यकामा सात वटा स्टेसन राखिने प्राधिकरणले जनाएको छ। प्रदेश नम्बर १ को झापाका दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँच स्थानमा चार्जिङ स्टेसन राखिनेछन्।

प्रदेश नम्बर २ को पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात स्थानमा चार्जिङ स्टेसन स्थापना हुनेछन्। बागमती प्रदेशमा धादिङको मलेखु, बीपी राजमार्गको सिन्धुली, मकवानपुरको हेटौंडा र चितवनको भरतपुरमा दुई–दुई वटा स्टेसन राखिनेछन्। मुग्लिन÷कुरिनटारमा चार वटा र काभ्रेको बनेपामा एउटा गरी बागमतीमा १३ वटा स्टेसन स्थापना गरिने योजना छ। त्यसैगरी, गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एक÷एक र कास्कीको पोखरामा तीन गरी ६ वटा स्टेसन रहनेछन्।

लुम्बिनी प्रदेशमा आठ वटा चार्जिङ स्टेसन राखिनेछन्। बाँकेको नेपालगञ्ज र रूपन्देहीको बुटवलमा एक–एक, दाङको भालुवाङसहित दुई, नवलपरासीको बर्दघाट÷सुनवलमा दुई वटा स्टेसन रहनेछन्। कर्णाली प्रदेशको सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक–एक गरी तीन वटा चार्जिङ स्टेसन राखिने विद्युत् प्राधिकरणले जनाएको छ।