September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

एक बर्षमा ३६ अर्ब ९० करोडको मोबाइल सेट आयात

एक बर्षमा ३६ अर्ब ९० करोडको मोबाइल सेट आयात

साउन १२, काठमाडौं ।
नेपालमा गत आर्थिक वर्षमा मोबाइल फोनको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा दोबरले बढेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरिएको छ। आव २०७६/७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँबराबरको ४३ लाख ६५ हजार ९९० थान फोन आयात भएको थियो। कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै फोन आयात र बिक्री बढ्दै गएको छ। एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालको काम गर्दा मोबाइलको माग बढेको हो।

Advertisement

असार २०७८ मा दुई अर्ब ७५ करोड रुपैयाँभन्दा बढी मूल्यबराबरका चार लाख ७६ हजार ४३ थान फोन आयात भएको छ। गत वर्ष सरकारले मोबाइल आयातबाट पाँच अर्ब ८४ करोड रुपैयाँ भन्सार संकलन गरेको विभागले जनाएको छ।  आव २०७६/७७ सरकारले मोबाइल आयात वापत दुई अर्ब ८७ करोड ९१ लाख ४२ हजार रुपैयाँ मात्रै भन्सार महसुल संकलन गरेको थियो। असारमा सरकारले ४३ करोड ६२ लाख २७ हजार रुपैयाँ फोन आयातबाट भन्सार संकलन गरेको भन्सार विभागले जनाएको छ।

Advertisement

नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्। तीमध्ये चीन, भारत र भियतनामबाट बढी मोबाइल सेट आयात हुने गरेको छ। गत आव २०७६/७७ मा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट भित्रिएको विभागले जनाएको छ। २२ अर्ब ८३ करोड रुपैयाँबराबरको ५७ लाख ७५ हजार थान मोबाइल सेट चीनबाट भित्रिएको छ। भारतबाट १२ अर्ब ५० करोड रुपैयाँबराबरको साढे ९ लाख थान मोबाइल सेट भित्रिएको विभागले जनाएको छ।  भियतनामबाट एक अर्ब २६ करोड रुपैयाँबराबरको करिब तीन लाख थान मोबाइल सेट भित्रिएको आँकडा विभागको छ। नेपालमा अमेरिका, युरोपदेखि खाडी मुलुकहरुबाट पनि फोन भित्रिने गरेको विभागले जनाएको छ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ। तराईमा भारतको खुला सीमाबाट पनि मोबाइल आउँछन्। ‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्थाअनुसार वैदेशिक यात्रामा गएकाले नयाँ मोबाइल १ सेट मात्र ल्याउन पाइने छ। त्यसको तथ्यांकले भने भन्सार विभागको तथ्यांकमा उल्लेख छैन।