April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

नेपालमा ४७ करोड ४७ लाख रुपैयाँ बराबरकोे तयारी चिया आयात

नेपालमा ४७ करोड ४७ लाख रुपैयाँ बराबरकोे तयारी चिया आयात

साउन १३, काठमाडौं ।
नेपालमा उत्पादन र सबैभन्दा बढी निर्यात हुने उत्पादित वस्तु हो चिया । देशका विभिन्न जिल्ला जस्तै झापा जिल्लामा सीटीसी र पहाडी क्षेत्रमा परम्परागत अर्थोडक्स चिया, ग्रीन चिया आदि प्रायः इलाम, पाँचथर धनकुटा, तेह्रथुम, ताप्लेजुङ्ग र संखुवासभा जिल्लालगायत अन्य जिल्लामा चिया खेती हुने गर्दछ । जसमा नेपालमा १ सय ४६ चिया इस्टेट र १४ हजार १४ साना चिया किसानहरू छन् । साथै १६ हजार ९ सय ५ हेक्टर क्षेत्रमा चिया खेती गरिएको छ । मुलुक आत्मनिर्भर रहेपनि विभिन्न देशबाट नेपालमा तयारी चिया आयात भइरहेको अवस्था छ । पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४७ करोड ४७ लाख रुपैयाँ बराबरकोे तयारी चिया आयात भएको छ । यस अवधिमा उक्त रकम बराबरको १६ लाख किलो तयारी चिया आयात भएको चिया तथा कफि विकास बोर्डले जनाएको छ ।

Advertisement

बोर्डको तथ्याङ्क अनुसार  सन् २०१९/२० मा २ लाख १८ हजार ६ सय ३३ किलो तयारी चिया आयात भएको छ । त्यस्तै, सन् २०१८/१९ मा ३ लाख ४३ हजार ३ सय ५३ किलो, सन् २०१७/१८ मा ३ लाख ७१ हजार ३ सय ७० किलो तयारी चिया आयात भएको थियो । सन् २०१६/१७ मा ३ लाख ६३ हजार १ सय ९० किलो र सन् २०१५/१६ मा ३ लाख ३ हजार ४ सय ६० किलो तयारी चिया आयात भएको तथ्यांकमा उल्लेख छ ।

Advertisement

नेपालले सबैभन्दा बढी भारतबाट चिया खरिद गर्छ । त्यसपछि चीन, श्रीलंका, थाइल्यान्ड, टर्की, दुबई, मलेसिया, बंगलादेशलगायतका मुलुकबाट तयारी चिया आयात हुने गरेको तथ्यांकमा उल्लेख छ ।  नेपालमा उत्पादन हुने चियाको निर्यात पनि सबैभन्दा धेरै भारतमा नै हुुन्छ । नेपालमा उत्पादन भएको तयारी चियामध्ये भारतमा ८८.९ प्रतिशत र जर्मनीमा ३.६ प्रतिशत रहेको छ । त्यसबाहेक रुस, जापान, चेकरिपब्लिक, अमेरिका, क्यानडा, फ्रान्स, अस्ट्रेलियालगायतका देशहरूमा समेत चियाको निकासी हुने गरेको छ । सरकारले चियालाई निर्यात प्रवद्र्धन गर्ने वस्तुको सूचीमा सूचीकृत गरेको छ ।

निर्यात प्रवद्र्धन गर्ने वस्तुको सूचीमा सूचीकृत वस्तुमा अतिरिक्त कर लगाउने, नेपाली उत्पादन निर्यातमा कर घटाउने, त्यस्ता वस्तुको बजार प्रवर्द्धनका लागि बजारको खोजी गर्ने, उत्पादन वृद्धिका लागि सहुलियत दिने गरेको छ । निर्यात प्रवर्द्धन गर्ने वस्तुको सूचीमा चिया सूचीकृत भएपछि विदेशी उत्पादनलाई निरुत्साहित गर्न चियामा ३० प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ ।

नेपालमा ठूला चिया इस्टेटहरूले ७२% जमिन ओगटेका छन् भने साना किसानहरू, जो मुख्यतया पहाडी क्षेत्रमा छन् र अर्थोडक्स चिया उत्पादन गर्छन्, बाँकी २८% जमिनमा खेती गर्छन् । सन् २०१९÷२०२० मा कूल चिया उत्पादन करिब २४ हजार मेट्रिक टन थियो । यसमध्ये सीटीसी चिया उत्पादन १४ हजार ९ सय ७७ मेट्रिक टन (६२%), अर्थोडक्स चिया ८ हजार २५१ मेट्रिक टन (३४%) र हरियो र अन्य चिया ८ सय ८९ मेट्रिक टन (४%) रहेको छ । चिया उद्योगको औसत क्षमता उपयोग सीटीसीको लागि करीव ६० प्रतिशत हो भने अर्थोडक्स चियाको ४४ % रहेको छ ।

गत बर्षको वास्तविक माग २०१९/२०२० को उत्पादन भन्दा ४ हजार मेट्रिक टनन बढी टन छ । पछिल्लो पाँच बर्षको मागको औसत वृद्धि २.६१% रहेको छ । आगामी पाँच बर्षको औषत मागको बृद्धि ३.२% रहने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ७८ करोडको चिया निर्यात गरिएको छ । चियाको कच्चा पदार्थ भनेको स्थानीय चिया इस्टेट र साना फार्महरूमा उत्पादन गरिएको चिया बोटको तीन पातहरूको टुप्पा मात्र हुन् । सन २०१९/२०२० मा चिया उत्पादन औसत ५२% ले बढेको छ, यद्यपि चिया बगैंचाको क्षेत्रफल भने विगतका वर्षहरूको तुलनामा ४१% ले कम रहेको अध्ययनले देखाएको छ ।

कुल ८ अर्ब ५ करोड पुँजी रहेको उद्योगमा विभिन्न समस्या रहेको जनाएको छ । नेपालमा उत्पादन हुने चियाको सम्पूर्ण कच्चा पदार्थ स्वदेशमा नै उत्पादन हुने गरेको र गत केही वर्षहरुको तथ्यांकलाई दृष्टिगत गर्दा वार्षिक उत्पादन २४ हजार ११८ मेट्रिक टन, खपत १३ हजार १५१ मेट्रिक टन, आयात २ सय १८ मेट्रिक टन निर्यात ११ हजार १८५ मेट्रिक टन रहेको छ । यसरी आयातको तुलनामा निर्यात लगभग ५० गुणा बढि रहेकोले चियाको क्षेत्रमा नेपाल आत्मनिर्भर रहेको विभागले जनाएको छ ।