September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

साउन १३, काठमाडौं ।

सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह गरेको छ। सबै सूची आएपछि चाहिने खोप संख्या सरकारलाई उपलब्ध गराउने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।

Advertisement

आजै स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग खोपका विषयमा थप छलफल हुने समेत दाहालले जानकारी दिए। चलचित्र विकास बोर्डले दुई महिनादेखि नै चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग माग गर्दै आएको थियो। बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार डोज खोप माग गर्दै आएको छ। यसैबीच नेपाल चलचित्र कलाकार संघले चलचित्रकर्मीलाई कोरोना विरुद्धको खोपका लागि आफ्नो विवरण पठाउन आग्रह गरेको छ । चलचित्रकर्मीलाई खोप लगाउने प्रवन्ध मिलाउने भन्दै सरकारले लिखित प्रतिवद्धता जनाएपछि संगले चलचित्रकर्मीको विवरण माग गरेको हो ।

कोरोना विरुद्धको खोप लगाउने अभियानमा संस्थाबाट खोप लगाउने चलचित्रकर्मीको नाम, ठेगाना र उमेर उल्लेख गरी साउन १३ गतेभित्र विवरण पठाउन संघका अध्यक्ष रवीन्द्र खड्काले आग्रह गरेका छन् । १५ र १६ गते खोप आए १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएकाले १३ गतेसम्म विवरण पठाउन चलचित्रकर्मीलाई आग्रह गरिएको हो । संघका अध्यक्ष खड्काले विवरण पठाउँदा १८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका कलाकारको छुट्टाछुट्टै विवरण पठाउन समेत आग्रह गरेका छन् ।

चलचित्रकर्मीकाे विवरणका लागि निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र संघलगायत संस्थालाई पत्राचार गरेको खड्काले जानकारी दिए । खोपकेन्द्र भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोक्ने भएको छ । स‌ंघले झण्डै ३ हजार चलचित्रकर्मीले खोप लगाउने अपेक्षा गरेकाे छ ।