September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

विश्व बाघ दिवस मनाइँदै, २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्य नजिक नेपाल

विश्व बाघ दिवस मनाइँदै, २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्य नजिक नेपाल

साउन १४, काठमाडौं ।

आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ । तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन ।

Advertisement

नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । संरक्षण कार्यले व्यापकता पाएसँगै बाघको संख्या बढ्दै गएको अनुमान छ । हाल विश्वमा बाघ पाइने देशहरुमा १३ मुलुकको नाम सूचिकृत छ। नेपाल, भारत, चीन, भुटान, बर्मा, बंगलादेश, इण्डोनशिया, मेलेसिया, भियतनाम, लाओस, क्याम्बोडिया, थाइल्याण्ड र रुसमा पाइने बाघ यसै दशकमा भियतनाम लाओस र क्याम्बोडियोबाट हराएको खबर छ।  नेपालभर रहेको बाघको संख्यामध्ये चितवन निकुञ्जमा आधाभन्दा बढी छ । तर यहाँ गुणस्तरीय बासस्थान नहुनु चुनौतीपूर्ण रहेको  छ । निकुञ्जभित्र पर्याप्त मात्रामा घाँसे मैदान र पानी पोखरीको व्यवस्थापन हुन सकेको छैन । त्यसको असर बाघलाई परेको छ । निकुञ्जभित्र १० हजार हेक्टर घाँसे मैदान भए पनि व्यवस्थापनका लागि करिब ३ सय हेक्टरलाई मात्रै बजेट तथा कार्यक्रम आउने गरेको छ ।

सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ मा त्यो सङ्ख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका छन् । संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहँदा सन् २०२२ सम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ ।

सन् २०१८ मा भएको गणनामा  बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको दाबी गरिएको छ ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ । तर,  बाघको चोरी शिकारी, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती पनि कायमै छ ।