April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको आयात १० अर्ब रुपैयाँले बढ्यो, २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात

साउन १७, काठमाडौं ।
निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन हुन थालेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । आर्थिक वर्ष २०७७–०७८ मा पेट्रोलियम पदार्थको आयात १० अर्ब रुपैयाँले बढेको हो । राजमार्गमा पेट्रोलबाट चल्ने सवारी साधनहरू चल्न थालेपछि पेट्रोल–डिजलको आयात बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार आव २०७६–०७७ मा वर्ष १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकोमा आव २०७७–०७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

Advertisement

एक महिना अघि दैनिक बरौनीबाट ३३ वटा ट्यांकर पेट्रोल लिएर वीरगन्ज नाका आउँथ्यो । अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ट्यांकरहरु आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि कडा निषेधाज्ञा जारी रहँदा पेट्रोलियम पदार्थको खपत घटेको थियो । यसअघि पहिले साढे ६ सय केएल दैनिक रूपमा वीरगन्जबाट भित्रिन्थ्यो भने अहिले दैनिक १४ सय केएल पेट्रोल आइरहेको छ । दुई वर्षअघि निर्माण गरिएको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट डिजेल मात्र आइरहेको छ ।

Advertisement

निगमका अनुसार एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । यस्तै पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मट्टितेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिरट आयात भएको छ । यस्तै खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । नेपालले इन्डियन आयल कर्पोरेशनबाट सीधै उपभोग गर्न सकिने पेट्रोलियम पदार्थको खरिद गर्ने गर्छ ।

भारतीय बजारमा उपभोग हुने करिब ८५ प्रतिशत कच्चा तेल खाडीका साथै अन्य केही देशबाट आयात हुन्छ । भारतले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको घटबढका आधारमा नेपाललाई मूल्य सूची पठाउने गर्छ । अनि त्यो सूचीका आधारमा रहेर निगमले नेपाली बजारका लागि मूल्य तोक्ने गर्छ । १ खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेवापत निगमले सरकारलाई एक वर्षमा ९८ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । आर्थिक वर्ष २०७५–०७६ मा १ खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँ बराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात भएको थियो ।

आर्थिक वर्ष २०७४–०७५ मा मुलुकले १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँ बराबरको २७ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । निगमले पेट्रोल आयात गर्दा २५ रुपैयाँ भन्सार शुल्क, ४ रुपैयाँ सडकमर्मत दस्तुर, १० रुपैयाँ पूर्वाधार कर, १ रुपैयाँ ५० पैसा वातावरण शुल्क, १५ रुपैयाँ मूल्य अभिवृद्धि कर गरेर पेट्रोलमा प्रतिलिटरमा ५६ रुपैयाँ कर तिर्नुपर्छ । यस्तै डिजेल आयात गर्दा १२ रुपैयाँ भन्सार शुल्क, २ रुपैयाँ सडक मर्मत दस्तुर, १० रुपैयाँ पूर्वाधार कर, १ रुपैयाँ ५० पैसा वातावरण शुल्क, १३ रुपैयाँ मूल्य अभिवृद्धि कर, १ रुपैयाँ १२ पैसा मूल्य स्थिरिकरण कोषमा जम्मा गरेर डिजेलमा ३९ रुपैयाँ कर रहेको छ । विभिन्न शीर्षकमा लगाइएको करको कारणले गर्दा उपभोक्तालाई महङ्गोमा इन्धन खरिद गर्नुपरेको छ । इन्धनको कारोबार गर्दा गएको वर्ष निगमले घाटा बेहोरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेकाले आगामी वर्ष ४ अर्ब घाटा हुने निगमले अनुमान गरेको छ । आव २०७१–०७२ देखि नाफा कमाउँदै आएको निगम ६ वर्षपछि आएर घाटामा गएको हो । केहि महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । पन्ध्र–पन्ध्र दिनको अन्तरालमा गरिने मूल्य समायोजनमा एकाध पटक मूल्य घटाइए पनि अरू बेला बढाइएको गुनासो सर्वसाधारणहरूको छ ।