March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

द्वन्द्वपीडित घाइते र अपांग माओवादी लडाकुका पीडा

दुर्गालाल केसी

Advertisement

छेउमै पातुखोला गड्गडाउँदै बग्छ । वर्षायाम सुरु भो कि कतिबेला खोलामा परिएला भन्ने पिरलो । स्वर्णिमकुमार बाँठा त्यही खोलाकिनारमा बसेर विगत सम्झन्छन् र अहिलेको आफ्नै जीवनसँग दाँज्छन् । कुनै बेला छातीमा गोली थाप्न तयार हुने उनको ज्यान अहिले पानी पर्दा डराउँछ । यसको कारण छ, माओवादीको दशक लामो हिंसात्मक विद्रोहको भुक्तमान व्यहोरेका पात्र हुन् उनी । घर, परिवार अनि सबथोक छाडेर होमिएका बाँठासँग विद्रोह समाप्तिपछि आफ्नो भन्ने केही बाँकी रहेन । युद्ध सकिंदा नसकिंदै नेताहरू सहर छिरेर ठूल्ठूला पदमा पुगिसकेका थिए । तर उनीसँग न साथीभाइ थिए न आफन्त । शान्तिप्रक्रियाका नाममा छ वर्ष क्यान्टोन्मेन्ट (लडाकू शिविर) मा बसे । त्यहाँबाट बाहिरिंदा बुझेको रु. पाँच लाख र त्यसमा श्रीमतीको रु. पाँच लाखसमेत थपेर पातुखोला किनारमा घडेरी किने । ऐलानी जग्गा भएकोले धनीमा उनको नाम हुँदैनथ्यो । त्यही जग्गामा एकतलाको घर बनाए । त्यसैले अहिले पनि जब पातुखोला गड्गडाउँछ– उनको मनमा जिन्दगीले त्यसै÷त्यसै ढ्यांग्रो ठोक्न थाल्छ ।

Advertisement

बाँठाको खास घर रुकुमको त्रिवेणी गाउँपालिका–४ खारा÷खुम्चेरी हो । खारा राज्य–माओवादी युद्धताका संसारभर चर्चामा आएको गाउँ । युद्धकालमा दुईपटक सैनिक ब्यारेकमा आक्रमण भएको, एक प्रहरी जवानको हत्या भएको बदलामा प्रहरीले गाउँ नै जलाइदिएको ठाउँ । त्यहीं हुर्के बढेका बाँठामा देश बदल्ने सपना पलायो । गाउँमा देखे भोगेको शोषण र थिचोमिचो अन्त्य गर्ने सपना पूरा गर्न उनले बन्दुक बोके र घर छाडे । ‘जिते सिंगो संसार, मरे एउटा प्राणी’ भन्दै युद्धमा होमिएका उनले ‘न संसार जिते’ ‘न ज्यान नै गुमाए ।’ एउटा गोडा गुमाएर उभिन अर्काको सहारा खोज्नुपर्ने उनीसँग अहिले संसार जित्ने सपना बाँकी छैन । अब त बाँकी जीवन कसरी जिउने भन्ने पिरलोमात्रै छ ।

‘घर फर्कन मन मानेन’
१९ फागुन २०६० मा माओवादीले भोजपुरस्थित नेपाल टेलिकमको रिपिटर टावरमा आक्रमण गरे । उक्त भिडन्तमा बाँठाको बाँया गोडामा गोली लाग्यो । गोलीले गोडा यति छियाछिया पारेको थियो कि गोडा नै काट्नुप¥यो । ‘त्यतिबेला मर्न रहर गथ्र्यौं, अग्रमोर्चामा लड्न नपाउँदा छट्पटिन्थ्यौं’, बाँठाले २०७७ पुसको एउटा चिसो दिनमा मनै चिसो पार्नेगरी भने– ‘नेताहरूलाई सत्ता मिल्यो, हाम्रोचाहिँ बिजोग भयो ।’
१५ वर्षको उमेरमै युद्धमा होमिएकी रुकुम स्यालापाखाकी चेतना स्वर्णिमकी जीवनसँगिनी हुन् । उनीहरूको बिहे युद्धकालमै भयो । चेतनाको चेत आज पनि तीखो छ, तर शरीर सद्दे छैन । १३ जेठ २०५९ मा खाराको सैनिक ब्यारेक आक्रमणबाट बचेर सल्यानको गुराँसे पुग्दा २९ जेठमा उनी सेनासँगको भिडन्तमा परिन् । पूरै रातभर र भोलिपल्ट दिउसोसम्म चलेको भिडन्तमा गोडामा गोली लाग्यो । अहिले पनि शरीरमा गोलीका छर्रा छन् । ‘छर्रा फाल्दा गोडा नै काट्नुपर्ने हुन्छ रे, बेला÷बेला गोडा सुन्निएर साह्रै सताउँछ’ चेतनाले भनिन्– ‘ज्यानको वास्ता नगरी लड्यौं, आखिरमा चाहिने गृहस्थी नै रहेछ ।’ चेतनाको दिनचर्या अहिले अपाङ्ग श्रीमान्को स्याहारमा बित्छ । दाङको संक्रामस्थित तत्कालीन माओवादी लडाकूको शिविरबाट रु. पाँच÷पाँच लाख बुझेर निस्कँदा उनीहरूलाई ‘संसार जित्न निस्केका मान्छे, गोडा गुमाएर घर कसरी फर्कनू ?’ भन्ने आत्मग्लानि भयो । त्यसपछि बाँठा दम्पतिले रुकुम नफर्कने र तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिशील टोलस्थित पातुखोला किनारमा ऐलानी जग्गा किनेर बस्ने निधो गरे । ‘शिविरबाट बुझेको पैसा सकियो, अरू कमाउने उपाय भएन’ चेतनाले भनिन्– ‘श्रीमान्को यो हालत छ, म मजदुरी गर्न जान्छु । छोराछोरीले मिठोमसिनो खान खोज्दा दिन सक्दिनँ ।’ चेतनालाई अहिले लाग्छ, दुःखजति सबै नेताकै लागि गरिएछ । ‘हामीले ज्यान फालेर नेतालाई सत्तामा पुग्न सजिलो बनाएछौं’ उनले भनिन्– ‘मेरा लागि जनयुद्धको उपहार भनेको छर्रा बोकेको आफ्नो शरीर र एउटा गोडा नभएका श्रीमान् हुन् ।’ चेतना अहिले गहिरो चिन्तनमा छिन् । उनी भन्छिन्– ‘लडाइँले त बलियाको मात्रै सेवा गर्दो रहेछ । नत्र हामी यतिविघ्न बेसहारा हुनुपर्ने थिएन ।’ उनका श्रीमान् अहिले कृत्रिम गोडाका भरमा हिंड्छन् । फेरि कृत्रिम गोडा किन्नुप¥यो भने रु.पाँच लाखसम्म खर्च गर्नुपर्छ । अब कसरी जुटाउने त्यत्रो पैसा भन्ने चिन्ता छ उनलाई ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तयार पारेको ‘द्वन्द्व पाश्र्वचित्र’अनुसार १७ हजार आठ सय २८ जनाको ज्यान गएको माओवादी युद्धमा पाँच हजार नौ सय १२ जना अंगभंग छन् । स्वर्णिम र चेतना तिनैमध्ये हुन् । त्यसैले यो अरू धेरैको कथा हो । लोकबहादुर बीसीको घर पनि रुकुमकै त्रिवेणी गाउँपालिका–२ डाँडा हो । २९ साउन २०५९ मा युनिफाइड कमाण्डको फौजसँग रुकुम झुलखेतमा भिडन्त हुँदा उनलाई गोली लाग्यो । साथीहरूले म¥यो भनेर छाडिदिएका थिए । तर, भारत पुगेर सातपटक शल्यक्रिया गरिसकेका उनी मुस्किलले बाँचे । अहिले पनि उनको मुखमा फलामका दुई पाता र २३ वटा क्लिप जोडिएका छन् । मासिक रूपमा पाउँदै आएको रु.छ हजार दुई सय निर्वाह भत्ता अहिले आउन छाडेको छ । शिविरबाट बाहिरिंदा बुझेको छ लाख रुपैयाँ र मासिक भत्ताबाट कसो जीविका नचल्ला भन्ने सोचेका उनी अहिले हरेस खान थालेका छन् ।

समाज र देश बदल्ने सपना बोकेर हिंडेका लोकबहादुर यतिखेर आफ्नो ज्यान पाल्ने पिरलोमा छन् । शिविरबाट निस्केपछि घाइते शरीर लिएर घर (रुकुम) फर्कन आँट नआएपछि दाङमै बसेर केही व्यवसाय गर्ने योजना बनाए उनले । त्यो सफल भएन । गुजाराका लागि अहिले साथीहरूसँग मिलेर, ऋण गरेर एउटा मालवाहक ट्रक किनेका छन् । उनी त्यसैमा सामान लोड–अनलोड गर्दै हिंड्छन् । इँटा अनलोड गरेपछिको ट्रकको धुलो सफा गर्दै गरेको अवस्थामा भेटिएका लोकबहादुर भन्छन्– ‘सँगै हिंडेका धेरै साथी सांसद र मन्त्री भए, अब त हाम्रा बारे सोधखोज गरिदिने पनि कोही छैन ।’

‘संसारै अँध्यारो’
सल्यानको कुमाख गाउँपालिका–२ खारखोलाका लालबहादुर वली दुवै आँखा देख्दैनन् । २५ असोज २०६० मा दाङको भालुबाङस्थित सशस्त्र प्रहरी क्याम्प आक्रमण र ११ मंसिर २०६० मा अघाँर्खाचीको सिद्धारामा भएको भिडन्तका क्रममा उनका आँखामा गहिरो चोट लागेको थियो । उपचारका लागि भारत जाने क्रममा उनी भारतको बलरामपुरबाट पक्राउ परे । उनलाई त्यहाँबाट कपिलवस्तु ल्याइयो । हिरासतमा यातना दिने क्रममा करेन्ट लगाइयो । २०६० मंसिरपछि उनका दुवै आँखाका ज्योति गुमे । लालबहादुरको संसार अन्धकार छ । त्योभन्दा बढी उनमा युद्धको निराशा छ । ‘क्रान्तिका नाममा हामीले घरबार भत्कायौं, आफ्नै संसार अन्धकार बनायौं’ लालबहादुर भन्छन्– ‘अहिले सत्ता र शक्तिमा पुगेका नेताले बिर्से । आपत् परेर फोन गर्दा पनि उठाउँदैनन् ।’ लामो कुराकानीका क्रममा लालबहादुरले विगत सम्झे । ‘बाआमाले रुँदै युद्धमा नजा भन्थे, हामी संसार जितेर आउँछौं भन्दै हिंडेका थियौं’ उनले भने– ‘हामी अहिले बाआमालाई पनि मुख देखाउन नसक्ने भयौं ।’

उनले २०६२ असोजमा माओवादी घाइते लडाकू सल्यान दमाचौरकी सीता केसीसँग बिहे गरेका थिए । शरीरमा बमका छर्रा बोकेकी सीतालाई हड्डीमा क्यान्सर भएपछि रु.चार लाख खर्च गरेर चितवनमा उपचार गर्नुप¥यो । त्यो रकम जुटाउने अनेक प्रयत्न सफल नभएपछि ऋण लाग्यो । एकातिर आँखा नदेख्ने श्रीमान्, अर्कोतिर आफ्नो घाइते र रोगी शरीर । सोच्दासोच्दै सीता डिप्रेसनको शिकार भइन् । अहिले नियमित औषधि खानुपर्छ । ‘हिजो पो हामी बलिया लडाकू थियौं, संगठनलाई काम लाग्थ्यौं, आज हामीलाई कसैले खोज्दैन’ सीता भन्छिन्– ‘नसोचौं भन्दा पनि आधा जीवन युद्धमा फालेकाले नेताहरूले चासो दिन्छन् कि भन्ने सोच आइहाल्दो रहेछ । तर के गर्नु अहिले कसैले सम्झिंदैन ।’ युद्धमा घाइते र अपाङ्ग शरीर बोकेर आफ्नो पुख्र्यौली घर (सल्यान) फर्कन नसकेको यो जोडी तुलसीपुर–१५, पहेलपारमा कुखुरा र बाख्रापालन गरेर गुजारा चलाइरहेको छ । २०५७ देखि माओवादी युद्धमा हिंडेको यो जोडी आज साँच्चिकै पछुतोमा छ । ‘महिनाको २० हजारभन्दा बढी उपचार खर्च लाग्छ । गणतन्त्रले मात्रै जीवन चल्दो रहेनछ’ लालबहादुर भन्छन्– ‘गणतन्त्र त आयो तर अपाङ्ग जीवन हाम्रा लागि साह्रै पीडादायी भइरहेको छ ।’

घोराही–१७, गैरागाउँका केशव चौधरी (३७) को एउटा आँखा युद्धमै गुम्यो । १३ जेठ २०५९ मा रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमणमा ब्रिगेड कमाण्डर चौधरीको बायाँ आँखामा गोली लागेको थियो । शरीरभरि अहिले पनि बमका छर्रा छन् । सद्दे रहन जीवनभर औषधि खानुपर्ने भएको छ । ‘पहिले ज्यान दिन अघि सथ्र्यौं, अहिले कसरी बाँच्ने भन्ने चिन्ता छ’ उनले भने– ‘जीवनभरलाई औषधि खर्च कसरी जुटाउने, जहान परिवार कसरी पाल्ने चिन्ताले छोपेको छ अहिले ।’ श्रीमान्को स्याहारमा खटिएकी लक्ष्मी चौधरी भन्छिन्– ‘उहाँलाई एक्लै छाड्ने अवस्था छैन । न उहाँले काम गर्न सक्ने, न मैले काम गर्न भ्याउने । छोराछोरी कसरी पाल्ने भन्ने चिन्ता छ ।’

देशमा सानोतिनो होइन– उथलपुथल हुनेगरी परिवर्तन ल्याउने सपना देखेर माओवादी युद्धमा होमिएकी दाङ बंगलाचुली गाउँपालिका–२, खाराकी कुमारी नेपाली (३१) युद्धबाट फर्कंदा एउटा आँखा गुमाएर आइन् । कपिलवस्तु भिडन्तमा गोली लागेको उनको बायाँ आँखा कहिल्यै ठीक भएन । शरीरभरि गोलीका छर्रा छन् । कुमारीका श्रीमान् निमबहादुर नेपाली पनि पूर्व लडाकू हुन् । गुजारा कठिन भएपछि अहिले उनी साउदी अरब पुगेका छन् । कुमारीलाई घरमा दुई छोरा र एक छोरी पाल्न धौ÷धौ छ । उनी बेलाबेला युद्ध सम्झेर भक्कानिन्छिन् । भन्छिन्– ‘ कमाण्डर र नेताहरू पदमा पुगे, बिजोग त हाम्रो पो भो !’

‘आफ्नो शरीर आफैंलाई भारी’
पूर्वी रुकुमको हुकाममा व्याप्त जातीय छुवाछूतलाई समातेर तत्कालीन माओवादीले जातीय समानताको नारा लगाएको थियो । त्यही नाराले तानेर भुलबहादुर बिकले बन्दुक बोके । थुप्रै लडाइँ लडेका उनलाई २८ कात्तिक २०५९ मा जुम्ला सदरमुकाम खलंगा आक्रमण गर्दा दायाँ गोडामा गोली लाग्यो । समयमै उपचार नपाउँदा गोडा काट्नुप¥यो । अहिले बैसाखीको सहाराले हिंड्ने भुलबहादुर भन्छन्– ‘गरिबको क्रान्ति भनेर युद्धको भट्टीमा हाम्फाल्दाको सजाय अहिले भोग्दैछु ।’ घरपरिवार अनि समाजलाई संसार जित्ने सपना बाँडेर युद्धमा हिंडेका भुलबहादुरले युद्धपछि घर फर्कने आँट गरेनन् । अहिले उनी दाङको तुलसीपुर–१८, धनखन्नेमा श्रीमती, तीन छोरा र एक छोरीका साथ बस्छन् । ‘एउटा गोडाको भरमा रुकुम फर्किन मन लागेन, संक्राम शिविरबाट निस्केपछि यतै सानो घरबास बनाएर बसें’ उनले भने– ‘अब के खाने, के लाउने भन्ने लडाइँ सुरु भएको छ । जवान उमेर संगठनका लागि सिध्यायौं, अब आफूसँग के नै बाँकी रह्यो र ?’
माओवादीको ‘क्रान्ति’ले दिएको चोट सल्यान, कोटमौलाका चक्रपाणि शर्मासँग झन गहिरो छ । २५ चैत २०६१ मा खारास्थित सैनिक ब्यारेक आक्रमण गर्दा बम लागेपछि उनी हिंडडुल गर्न सक्दैनन् । कम्मरमुनिको शरीर चल्दैन । बैसाखीको सहाराले मात्र उभिन सक्ने उनलाई एकजना सहयोगी नभई हुन्न । ‘विशिष्ट श्रेणीका अपाङ्ग’ भनेर मासिक रु.१२ हजार चार सय निवृत्तिभरण (निर्वाह भत्ता) पाउँदै आएका थिए । तर २०७७ असारयता त्यो भत्ता रोकिएपछि अब औषधि कसरी किन्ने भन्ने पिरलो थपिएको छ ।

युद्धका बेला माओवादीले घाइते, अपाङ्ग र बेपत्ताको धेरै गुनगान गाउँथ्यो । तर सत्तामा पुगेपछि यो विषयमा बिस्तारै चर्चा कम हुन थाल्यो । शर्मा अहिले आफैंसँग प्रश्न गर्छन्– ‘के यही नियति भोग्न हामीले अंगभंग हुने बाटो रोजेको हो ?’ शर्माजस्ता घाइते र अपाङ्गता भएका व्यक्तिको माग ठूलो पनि छैन । उपचारको व्यवस्था होस्, गुजारा चलाउने र छोराछोरी पढाउने व्यवस्था होस् । सरकारलाई पैसा दिन गाह्रो भए गर्न सक्ने काममा लगाएर पारिश्रमिक दिए पनि भो । श्रीमान् र पाँच छोरी स्याहारिरहेकी चक्रपाणिकी श्रीमती सचित्रालाई अहिले ‘नेता’ भन्ने सुन्दा पनि एलर्जी हुन्छ । उनले भनिन्– ‘शहीद हुनेले बरु यत्ति दुःख पाएनन् होला, हामी त जिउँदै छौं तर पटक÷पटक मरिरहेका छौं ।’ बोल्दा बोल्दै आवेशमा आएकी सचित्रा भन्छिन्– ‘सरकारलाई बोझ लाग्छ भने घाइते र अपाङ्ग पूर्व लडाकूलाई एकठाउँ जम्मा गरेर गोली हानिदिए हुन्छ ।’

१० कक्षा पढ्दा पढ्दै २०५६ मा माओवादी लडाकू बनेका पश्चिम रुकुमको रुँघा, बाँदरपानीका चन्द्रबहादुर पुनका धेरै साथी युद्धपछि कोही सेना समायोजनमा गए, कोही स्वेच्छिक अवकाश रोजेर घर फर्के । स्वेच्छिक अवकाश रोजे पनि एउटा गोडाका भरमा उनीचाहिं घर फर्कन सकेनन् । तुलसीपुरको बिजौरी थानगाउँमा घर बनाएर बसे । २३ भदौ २०५९ मा अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमण गर्दा सेनाको ‘ल्याण्डमाइन’ विस्फोटबाट उनको दायाँ गोडाको घुँडामुनिको भाग गुमेको थियो । पहिलोचोटि बन्दुक बोक्दा १५ वर्षका थिए चन्द्रबहादुर । जोश र उत्साह थियो । अहिले नक्कली गोडाको सहाराले मात्र हिंड्न सक्छन् । ‘संविधान आयो, नयाँ व्यवस्था आयो, हाम्रो रगत मिसिएको हुनाले यसको माया लाग्छ’ उनले भने– ‘तर, त्यसकै लागि लडेका हामीलाई आज कसैले सम्झँदैनन् ।’ उनले भने– ‘हामीले अंगभंग हुने गरी लडेर धेरैको उन्नति भयो, तर हामी झन÷झन दुर्गति भोगिरहेका छौं ।’ खारालगायतका आक्रमणमा सहभागी चन्द्रबहादुरकी श्रीमती हीरामोती पुन पनि पूर्व लडाकू हुन् । अहिले उनी दाङमै गृहस्थी सम्हालेर बसेकी छन् । चन्द्रबहादुर रुकुमको सोलाबाङमा केही साथीसँग मिलेर हार्डवेयर पसल चलाइरहेका छन् ।
‘सपनाले तर्साउँछन्’

तुलसीपुर–१० राइखल्यानका भूमिलाल चौधरी (३६) लाई सिरहाको बन्दीपुर र म्याग्दीको बेनीमा गोली लागेको थियो । बायाँ हात चल्दैन । ‘गुजाराका लागि कामको खोजीमा भौंतारिन्छु, एक हातले गर्ने काम पाइन्न’ उनले भने– ‘परिवार पाल्न नसक्ने, आफ्नै उपचार गर्न नसक्ने अवस्था आयो । युद्धमा लागेर हामीले एकबारको जुनी बर्बाद पा¥यौं ।’ रुकुम–पश्चिम, पुर्तिमकाँडाका उदय शेर्पाइली (४३) लाई पनि लाग्छ– ‘युद्धमा गरेको त्याग र बलिदानी खेर गयो ।’ २०५७ मा रुकुमकोट प्रहरीचौकी आक्रमण गर्दा उनको बायाँ कोखाबाट पसेको गोली दायाँ कोखाबाट निस्केको थियो । लडाकू शिविरबाट स्वेच्छिक अवकाश रोजेर निस्केका उनलाई त्यसपछि घर (रुकुम) फर्कन अप्ठ्यारो लाग्यो । उनी दाङको तुलसीपुर–१८, हेमन्तपुरमा घर बनाएर बसे । ‘गाउँ समाजको सामना गर्न सक्दिनँ होला भन्ने लाग्यो त्यसैले अशक्त शरीर लिएर गाउँ फर्कने आँट गरिनँ’ उदयले भने– ‘समाजलाई त छलें, जीवन गुजारालाई छल्न सकिने रहेनछ । हिजोआज मलाई लाग्छ– बलिदान गर्नु त अपमान भोग्नका लागि रहेछ ।’

घोराही–१२, हापुर–बिजौरीका खुशीराम चौधरी (४६) को शरीर चल्दैन । कुनै बेला आफू ‘जनसेना’ थिएँ भन्ने सम्झँदा उनलाई अहिले ऐठन हुन्छ । २५ चैत २०६१ मा रुकुम खाराको सैनिक ब्यारेक आक्रमणमा उनलाई टाउको, छाती र घाँटीमा गोली लागेको थियो । ‘त्यसपछि दायाँ हात र गोडा चल्न छाड्यो, अहिले केही काम गर्न सक्दिनँ’ खुशीरामले भने– ‘जीवनभर औषधि खानुपर्नेछ । औषधि किन्ने पैसा छैन ।’ ‘क्रान्तिमा लाग्दा’ देखेका सपना चकनाचुर भए । ‘नेताहरूले सपना देखाए’ खुशीरामले भने– ‘हामी ती सपना पूरा गर्न ज्यानको मतलब नगरी लड्यौं, हामीलाई आफ्नै सपनाले तर्साउँछ अहिले ।’ लमही–७, नयाँबस्तीका सुन्दर चौधरी (३६) अर्का दृष्टान्त हुन् । दाङको सतबरियास्थित सशस्त्र प्रहरी क्याम्प आक्रमणका क्रममा उनको चिउँडोमा लागेको गोली नाक हुँदै टाउकोबाट निस्क्यो । ‘भाग्यले बाँचें, तर बाँचेपछिको जीवन झन पीडादायी भयो’ सुन्दर भन्छन्– ‘अपमान र बेवास्ता भोग्न पो बाँचेको होला जस्तो लाग्न थाल्यो । हेर्नुहोस् त अहिले कहाँ नेताको जीवन, कहाँ हाम्रो ?’
रुकुम बाफीकोट–१, लागिमकी डिलकुमारी मल्लले माओवादी युद्धकालमा २९ बढी मोर्चामा लडिन् । छ कक्षा पढ्दापढ्दै २०५८ मा माओवादी उक्साहटमा लागेकी मल्लको २०५९ कात्तिकमा रुकुम, जाजरकोटका हिउँले सेताम्मे लेक छिचोल्दै जुम्ला सदरमुकाम खलंगा आक्रमण गर्न जाँदा ‘जनसेना’मै रहेका बाफीकोटकै धनबहादुर पुनसँग माया बस्यो र उनीसँगै बिहे भयो । २५ चैत २०६१ रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमण गर्दा श्रीमान् श्रीमती सँगै लडेका थिए । त्यो आक्रमण असफल भएपछि रुकुम–सल्यानको सीमाक्षेत्र, डल्सिङको लेकमा आएर बसेका बेला सेनाले स्थल र हवाइ आक्रमण ग¥यो । सँगै लड्दालड्दै उनले श्रीमान् गुमाइन् । भन्छिन्– ‘लडाइँमा बलिदानी दिनु नै थियो, उहाँको पालो पहिले आयो भनेर चित्त बुझाएँ । अनि म बाँकी लडाइँमा लडिरहें ।’

शान्तिप्रक्रिया सुरु भएपछि दाङको संक्रामस्थित लडाकू शिविरमा बस्न थालेपछि २०६६ मा सल्यान, काभ्राका घाइते लडाकू सुरजित बुढासँग उनको दोस्रो विवाह भयो । २०६२ मा पाल्पाको तानसेन आक्रमणका क्रममा घाइते भएका सुरजितका गोडा सुकेका छन् । काम गर्न सक्दैनन् । ठाउँ÷ठाउँमा लागेका गोलीका छर्राले डिलकुमारीको पनि शरीर दुखिरहन्छ । घाइते शरीर लिएर शिविरबाट निस्केपछि उनीहरूले नजिकै घरबास बनाए । स्यानी दमार गाउँमा खेतीकिसानी सुरु गरे । त्यसबाटै मुस्किलले गुजारा चलेको छ । ‘त्यसबेला संसार जित्नुपर्छ भन्ने मात्रै सोचियो’ डिलकुमारी भन्छिन्– ‘आज त उही गृहस्थी, खेतीपाती र गाईबाख्रा गर्नुपर्ने रहेछ । लडेर के भो र ?’

घाइते वर्गीकरणमा झेल
सरकारले सशस्त्र द्वन्द्वका घाइते र अपाङ्गको अपाङ्गता प्रतिशत निर्धारण र पुनरावलोकन गर्न २०७४ मा जारी गरेको कार्यविधिमा सहयोगी आवश्यक पर्ने, ७५ प्रतिशतभन्दा धेरै अपाङ्गता भएका व्यक्तिलाई ‘विशिष्ट खालका घाइते’ मानेर मासिक रु.१२ हजार चार सय निर्वाह भत्ता दिने उल्लेख छ । सहयोगी उपकरण प्रयोग गर्ने ५० देखि ७४ प्रतिशतसम्म (पहिलो श्रेणी) अपाङ्गता भएका व्यक्तिलाई मासिक रु.छ हजार दुई सय निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ । २५ देखि ४९ प्रतिशतसम्म अपाङ्गता भएका व्यक्तिलाई दोस्रो र २४ प्रतिशतसम्म अपाङ्गता भएका व्यक्तिलाई तेस्रो श्रेणीमा राखिए पनि उनीहरूलाई भत्ताको व्यवस्था छैन । कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने घाइते अपाङ्गता प्रतिशत निर्धारण एवं पुनरावलोकन शिफारिस समितिले स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाप्रमुखको संयोजकत्वमा रहने प्राविधिक समितिलाई यसको शिफारिस गर्नुपर्छ । त्यो शिफारिसलाई गृह सचिवको संयोजकत्वमा रहने घाइते अपाङ्गता प्रतिशत अनुमोदन केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै घाइते तथा अपाङ्गले यो सुविधा पाउँछन् ।

यो प्रक्रियामा आफैं जीवन निर्वाह गर्न नसक्ने घाइते, अपाङ्ग पूर्व लडाकूहरू छुटिरहेको ‘जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ’ दाङका संयोजक खगेश्वर घर्ती बताउँछन् । घर्तीका अनुसार दाङमा सात सय ५० जना घाइते–अपाङ्ग पूर्व लडाकू भए पनि भत्ता पाउने २२ जनामात्रै छन् । ‘धेरैले निर्वाह भत्ता पाएकै छैनन्, पाइरहेका व्यक्तिलाई पनि कटौती गर्न थालिएको छ’ घर्ती भन्छन्– ‘यसले गर्दा धेरैको औषधि खाने स्रोत पनि अवरुद्ध भएको छ ।’ सबै घाइते तथा अपाङ्ग पूर्व लडाकूलाई निर्वाह भत्ता, आवास, उपचार, रोजगारी र सन्तानको शिक्षाको ग्यारेण्टी गर्नका लागि गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि केही काम नभएको घर्तीको गुनासो छ ।

देशभर अहिले आठ सयभन्दा धेरै आफैं केही गर्न नसक्ने अवस्थाका घाइते तथा अपाङ्ग पूर्व लडाकू सुविधाबाट वञ्चित भएको, अहिलेसम्म १६ हजार सूचीकृत भए पनि अझै चार हजारजति घाइते तथा अपाङ्ग सूचीकृत हुन बाँकी रहेको घाइते तथा अपाङ्ग योद्धा संघका केन्द्रीय अध्यक्ष जीवन बुढाले बताए । बुढाले भने– ‘कतिपयले फारम भर्न छुटाए, उनीहरूलाई मर्नु न बाँच्नुको अवस्थामा छाडिदिने ?’

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा भने अपाङ्गताको अवस्थामा बर्सेनि सुधार आउने भएकाले सधैं सुविधा दिन नसकिने तर्क गर्छन् । ‘हरेक वर्ष मूल्यांकन गर्दा अपाङ्गता प्रतिशत घटेको हुन्छ, ५० प्रतिशतभन्दा मुनि भएपछि सुविधा पाइँदैन’ उनले भने– ‘त्यही कारण निर्वाह भत्ता कटौती भएको हो ।’ चिकित्सकीय प्रतिवेदनका आधारमा सुविधा दिइने भएकाले यसमा कुनै पक्षपात नहुने दाबी उनले गरे र भने– ‘कोही छुटेमा र चित्त नबुझेमा निवेदन दिन सकिन्छ । त्यसपछि मूल्यांकन गर्दा निर्वाह भत्ता पाउनुपर्ने अवस्थाका भए दिन सकिन्छ ।’ खोज पत्रकारिता केन्द्र