April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ६३ करोडमा सिमित

साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेको छ । बुधबार ६० अंक बढीले घटेको बजारमा बिहीबार दोहोरो अंकले घटेर २५५६.९५ को बिन्दुमा आइपुगेको हो । बिहीबार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४८३.३९ बिन्दुमा आइपुगेको छ । आज कुल कारोबार रकममा पनि गिरावट छ । बिहीबार २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन २१६ कम्पनीका ६१ लख ६ हजार ४५२ कित्ता शेयर ३६ हजार ७६२ वटा संख्यामा खरीद बिक्री भएका छन् ।

Advertisement

Advertisement

आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । अन्य १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढेको हो । एघार वटा सूचक घटेकोमा ब्यापार, विकास र फाइनान्सको सूचक २ प्रतिशत धेरैले घटेको छ भने होटल, जलविद्युत, उत्पादनमुलक सूचक १ प्रतिशत भन्दा धेरैले घटेको छ ।

बिहीबारको बजारमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको शेयरमूल्य १० प्रतिशत  बढेर १६९५.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ५.२६ प्रतिशत, र आईसिएफसि फाइनान्सको शेयरमूल्य ४.२१ प्रतिशतले बढेको छ ।  जोशी हाइड्रोपावर र गुडविल फाइनान्सको शेयरमूल्य क्रमश ५.८७ र ५.०९ प्रतिशतले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स,महुली लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा सानिमा बैंक २७ करोड रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो स्थानमा  ११ करोड सहित माछापुच्छ्रे बैंक दोस्रो स्थानमा रहेको छ । यस दिन नबिल बैंक, सिद्धार्थ बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, हिमालयन डिष्टिलरी, अरुण भ्याली हाइड्रोपावर, निर्धन उत्थान र अपि पावरको शीर्ष दश ठूलो कारोबार भएको छ ।