March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ओमिक्रोनबाट अर्थतन्त्र समेत बचाउँ

ओमिक्रोनबाट अर्थतन्त्र समेत बचाउँ

संक्रमणदर तीव्र रहेको ओमिक्रोन नेपालमा व्यापक मात्रामा देखिन थालेको छ । दिनैपिच्छे नयाँ नयाँ रेकर्ड बस्न थालेका छन् । सरकारले कोरोनाको निशुल्क परिक्षण गरेको भए यस्को परिमाण अमmै बढने पक्का छ । धेरै जनताले शुल्कको अभावमा परीक्षण नगर्दा कोरोना कम देखिएको हो । हुनत सरकाले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ । यसरी शुल्क घटाएर मात्र हुँदैन् । निशुल्क गरेमा कोरोना संक्रमणको परिमाण यकिन हुने थियो । कोरोनाको तेस्रो लहर शुरू भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसारको आदेश जारी गरेका छन् ।

Advertisement

कोरोना संक्रमणको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायत विभिन्न सुझाव सरकारलाई दिएको थियो । सोहीअनुसार काठमाडौं उपत्यकाका तीन लगायत धेरैजसो जिल्ला प्रशासन कार्यालयले पुस २७ गतेदेखि भीडभाड कम गर्न आदेश जारी गरेका छन् । घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक यातायातले सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायत नियम बनाईएको छ ।

विमानस्थल, पार्क, रंगशाला लगायतका स्थानमा प्रवेश गर्दा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । एकातर्फ सबै नागरिकले खोप नपाएको र अर्कातिर सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने कुरा आफैँमा विरोधाभाषपूर्ण छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ ।

१८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ । मन्त्रालयका अनुसार लक्षित नागरिक समूहमध्ये खोपको एक मात्रा लगाउनेको सङ्ख्या एक करोड ५८ लाख ३७ हजार ६७१ रहेको छ । पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड २१ लाख २७ हजार ८२९ रहेको छ । पूर्ण मात्रा लगाउने ६० दशमलव ९ र एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ७९ दशमलव ५ प्रतिशत हुन्छ । यस्तो अवस्थामा जतिसक्दो बढी मात्रामा खोप लगाउनु नै उत्तम विकल्प हो । ९० लाख खोप मौज्दात राखेर कोरोना घट्दैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन शुरू गरिएको छ । २ माघदेखि सरकारले देशभर अग्रपंक्तिमा खटिनेहरूका लागि बुस्टर डोज अभियान शुरू गरेयता देशभर बुधवारसम्म ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । कोरोनाबाट बचाउन यस्को परिमाणलाई पनि बढाउनु जरुरी छ ।

संक्रमण फैलिने जोखिम रहेका सार्वजनिक यातायातमा भीडभाड कम गर्न कडाइ गर्ने तथा भीडभाड हुने अन्य क्षेत्रमा प्रशासनको कडा अनुगमन जरुरी छ । आदेश जारी गर्ने तर कार्यान्वयन फितलो भयो भने त्यसको अर्थ हुने छैन । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश र स्वास्थ्य मापदण्डको कडाइका साथ अनुगमन र कार्यान्वयनमा सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ । कोरोना संक्रमणको त्रास बाँकी नै रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेशका धेरैकुरा पालना गर्नुपर्ने किसिमका थिए । कोरोना महामारी पूर्ण रूपले नियन्त्रणमा नआउँदै स्वास्थ प्रोटोकलका मापदण्डलाई नजरअन्दाज गर्ने र भीडभाड गर्ने काम रोकिएको थिएन । राजनीतिक दलका सभा सम्मेलन पनि संक्रमण बढ्ने कारक बनेका छन् । लापरवाहीकै कारण संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ ।

कोरोना संक्रमण नियन्त्रणको नाममा दुई वर्षयता पटक– पटक गरिएका बन्दाबन्दी (लकडाउन)का कारण देशको अर्थतन्त्र जर्जर बनेको थियो । फेरि गरिने लकडाउनले भर्खर लय समात्न थालेको अर्थतन्त्रलाई फेरि नराम्रोसँग आघात पार्नेछ । अहिलेको आवश्यकता मानव जीवनको रक्षा पहिलो शर्त हो । सँगै अर्थतन्त्रलाई जोगाउनु हो । ओमिक्रोनको संक्रमण दर धेरै भएपनि मृत्युदर कम रहेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेका छन्, त्यसैले पनि बजार नै बन्द गर्ने खालको लकडाउन या बन्द गर्न हतारो गर्नु हुन्न । महामारी नियन्त्रण र रोकथाममा आम नागरिकको भूमिका र दायित्व उत्तिकै छ । जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई पनि चलायमान बनाइराख्नु आजको आवश्यकता हो । पूर्वतयारी र सावधानीले क्षति कम गर्दै महामारीको सामना गर्न सकिनेछ ।