January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

तनावै तनावमा नेपाली नर्स , न्यून पारिश्रमिकमै चित्त बुझाउनुपर्ने बाध्यता

तनावै तनावमा नेपाली नर्स , न्यून पारिश्रमिकमै चित्त बुझाउनुपर्ने बाध्यता

१३ माघ, २०७६, काठमाडौं ।
जसरी एउटा राम्रो डाक्टरलाई देख्नेबित्तिकै बिरामीले आफ्नो आधा रोग निको भएको महसुस गर्दछ, त्यसरी नै एउटा शिष्ट नम्र नर्सको स्याहारसुसार पाएर बिरामी पूर्ण रूपमा निको हुनसक्छ । यस्तो पवित्र नर्सिङ पेसालाई विश्वभर नै मेडिकल शिक्षाका रूपमा राखिएको छ ।
नेपालमा विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २०१३ सालदेखि वीर अस्पतालबाट औपचारिक रूपमा नर्सिङ शिक्षाको थालनी भएको थियो । सुरुमा १० जना विद्यार्थीबाट सुरुवात भएको नर्सिङ अध्यापन आज नेपालभर निजी तथा सरकारी तवरबाट करिब ५० हजार जति नर्सिङ पेसामा आबद्ध भएको सरकारी आँकडा छ । नर्सिङ शिक्षामा बढ्दो आकर्षणले गर्दा नेपालमा बर्षेनि ९ हजारको हाराहारीमा नर्सहरू उत्पादन भइरहेका छन् ।
पछिल्ला दिनमा २०५३ सालदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि बिएस्सी नर्सिङको पढाइ सञ्चालन गर्याे । त्यसपछि, थुप्रै निजी तथा सरकारी निकायले नर्सिङ विषयलाई प्राथमिकताका साथ पठनपाठन गराउँदै आएका छन् ।
पिसिएल नर्सिङ पढिसक्दासम्म विद्यार्थीले पाँचदेखि १५ लाख रुपैयाँसम्म खर्च गरिसकेका हुन्छन् । धेरै लगानी गरी पढेर चुनौतीपूर्ण काम गरेता पनि जागिर पाउन सहज भने छैन, पाइहाले पनि चित्त बुझ्दो छैन । जति आशा गरेर लगानी गर्यो त्यसको दाँजोमा न्यून विन्दुमा तलब छ, जसले गर्दा उनिहरुले सोचेको जस्तो तलब नपाउदा बिरामीको हेरचाह गर्नुपर्ने नर्स आफैँ तनावमा रहेका छन् ।
नर्सहरु सरकारी अस्पतालमा काम नपाएपछि कम तलबमै प्राइभेट अस्पतालमा काम गर्न बाध्य हुन्छन् । उनीहरु छ महिनादेखि वर्षौँ दिनसम्म पनि स्वयंसेवकको नाममा तलब नदिई काममा पेलाईन्छन् भने धेरै जसो केही समय पछि त जागिर पक्का हुन्छ भन्ने आशमा स्वेच्छा अनुरुप स्वयंसेवक गर्ने पनी छन् । विनातलब केही समय काम गरेपछी मात्र बल्ल उनीहरूले जागिर पाउँछन् ।


नर्स भएर बिरामीको स्याहारसुसार गर्न त्यति सजिलो भने छैन । त्यसमा पनि असल र गुणकारी नर्स बन्न त झनै कठिन छ । सामान्यतया तीनजना बिरामीको बीचमा एकजना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा भने एउटै नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका सरकारी स्वास्थ्य संस्थामा हाल १० हजार नर्स कार्यरत छन् । नेपालमा रहेका नर्समा २० हजार जागिरे छन् । झन्डै ४० हजार नर्स अझै बेरोजगार छन् ।
नेपालमा हाल स्टाफ, अनमी र विदेशी गरेर ९० हजार ९ सय ९ नर्स छन् । १ सय ८९ मुख्य नर्सिङ शैक्षिक संस्थाले आफू मातहतमा २ सय ७४ शैक्षिक संस्था सञ्चालन गरेका छन्न । सरकारी तथा निजी गरेर देशभरका ८ हजारभन्दा धेरै स्वास्थ्य संस्थामा नर्सहरू काम गर्छन् ।
निजी अस्पतालमा काम गर्ने अधिकांश नर्सको अवस्था भने अत्यन्त दर्दपूर्ण छ । न्यून पारिश्रमिक, कामको चाप, सेवा–सुविधाको अभावबीच नर्सहरू दिनरात बिरामीको सेवामा कटिबद्ध छन् ।
क्षमताभन्दा बढी कार्य गरेता पनि सिमित सुविधामा कार्य गर्नुपर्ने विरामीको सेवामा पनि सम्झौता गर्नुपर्ने बाध्यताले गर्दा नर्सिङ पेशा र यस पेशाको सम्बन्धन गर्न भनि लागेका नेतृत्व प्रति आक्रोश उत्तिकै बढ्दो छ । वर्षौँ वर्ष काम गरीसक्दा पनि नर्सिङ पेशा प्रति गुनासोको दर पनि कतैबाट कम भएको देखिँदैन । कतिपय त यो पेशा नै छोडेर अरु पेशा तिर लागेको पनि देखिन्छ भने धेरै जसोले आफ्ना सन्तति र चिनेजानेकालाई नर्सिङ नपढ्ने सल्लाह पनि दिने गरेका छन् । धेरै जसो यो पेशागत तनाबबाट मुक्त हुन विदेशिने पनि गरेका छन् ।
पढाइ सकेको लामो समयसम्म पनि रोजगारी नपाउने, पाए पनि कम पारिश्रमिकमा काम गर्नुपर्ने, लामो समय भोलेन्टियरका रूपमा काम गर्नुपर्ने, बिरामीको अभद्र व्यवहार र डाक्टरको शोषण सहनुपर्ने नेपाली नर्सको बाध्यता छ ।
नेपालमा उत्पादित नर्सहरूलाई बे्रन ड्रेन हुनबाट रोक्नुपर्छ । सेवा मात्र होइन, आकर्षक तलब साथै अन्य सेवा सुविधाहरू बढाएर उनीहरुलाई विदेशीनबाट रोक्नुपर्छ ।

Advertisement